मधेस प्रदेश समाचार स्वास्थ्य

राजविराज जेसीजले रक्तदान गरेर मनायो विश्व रक्तदाता दिवस

राजविराज, ३२ जेठ । राजविराज जेसीजले शुक्रबार राजविराजमा रक्तदान कार्यक्रम गरेर विश्व रक्तदाता दिवस मनाएको छ ।
नेपाल रेडक्रस सोसाईटी राजविराजस्थित रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा १५ जनाले रगतदान गरेको रक्त सञ्चार केन्द्रका दिलिप यादवले जानकारी दिनुभयो । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यवाद दिनका लागि नै विश्व रक्तदाता दिवस मनाउने गरिन्छ ।
राजविराज जेसीज भवनमा आयोजित कार्यक्रममा राजविराज जेसीजका पूर्व अध्यक्ष समेत रहनु भएका स्वयम्सेवी रक्तदाता मनोहर पोखरेलले ५१ औं पटक रक्तदान गर्नुभएको छ भने १९ वर्षीय अनील कुमार यादव र रञ्जित साहले पहिलो पटक रक्तदान गर्नुभएको छ ।

कार्यक्रममा राजविराज जेसीजका पूर्व अध्यक्ष उज्जवल काबरा, कार्यकारी उपाध्यक्ष रबीकुमार राय, उपाध्यक्ष प्रेस कुमार यादव, व्यापार निर्देशक नविन चौधरी, सन्दिप परियार, मालती बुढाथोकी, शिवशंकर साह, दिपेन्द्र कुमार चौधरी, सत्यदेबी बोहरा, सरस्वती सोनी, पुनम खडगी र रञ्जन दत्तले रक्तदान गर्नुभएको रक्तदान केन्द्रले जनाएको छ ।
रक्तदान गर्नुहुँदै पोखरेलले रक्तदान मानव सभ्यताको सबैभन्दा पुण्य कमाइने दान भएकोले रक्तदान गरेर रक्तदाताहरुले मानवतालाई नयाँ उचाई दिइरहेको बताउनु भयो ।
यसैगरी शुक्रबारै राजविराजस्थित विभिन्न क्याम्पसहरुमा रक्तदाता सचेतना कार्यक्रम सम्पन्न भएको छ । ब्लड फर नेपालको आयोजनामा पाराडाइज क्याम्पस पुल्चोक, राजविराज युनिभर्सल एकेडेमी र राजविराज पोलिटेक्निक इन्सिट्च्युटमा रक्तदाता सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ब्लड फर नेपालका अध्यक्ष सरोज कुमार महतोले जीवनपर्यन्त रगतको आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्वलाई दर्शाउनु भयो । कार्यक्रममा नियमितरुपमा रगत र प्लाज्माको दानमार्फत दिगो र सुरक्षित आपूर्तिको महत्वबारे समेत चर्चा गरियो ।
मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ को अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाइन्छ । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्ने गरिन्छ । रक्तदातालाई धन्यवाद दिन पनि यो दिवस मनाउने गरिन्छ । यस अवसरमा देशभरका विभिन्न सङ्घसंस्था र अस्पतालले रक्तदानसम्बन्धी जनचेतना फैलाउने, दातालाई प्रोत्साहन गर्ने र रक्तदानको कार्यक्रम आयोजना गरेको छ ।
पहिलो विश्व रक्तदाता दिवस सन् २००४ मा मनाइएको थियो भने सन् २००५ मा ५८ औँ विश्व स्वास्थ्य सभाद्वारा वार्षिक विश्वव्यापी कार्यक्रमको रुपमा नामकरण गरेको थियो ।

   

You cannot copy content of this page