मधेस प्रदेश समाचार समाज

सप्तरीको आगलागी प्रभावित महादेवामा स्नेह केन्द्र सञ्चालन

राजविराज, ३२ जेठ । सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीमा शुक्रबार आगलागी प्रभावित क्षेत्रमा स्नेह केन्द्र संचालन गरिएको छ । आगलागी पीडित गर्भवती, सुत्केरी, किशोरी, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने लैङ्गिक हिंसा जोखिम न्यूनीकरणका लागि स्नेह केन्द्र स्थापना गरिएको हो ।
आगलागी प्रभावित गर्भवती, सुत्केरी, किशोरी, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने लैङ्गिक हिंसा जोखिम न्यूनीकरणका लागि स्थापना भएको स्नेह केन्द्र (महिला मैत्री सुरक्षित स्थल) सञ्चालनका लागि महादेवा गाउँपालिका उपाध्यक्ष अर्चना यादवको अध्यक्षतामा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।
महादेवा गाउँपालिका कार्यालयमा आयोजित भेलाले गठन गरिएको व्यवस्थापन समितिको उपाध्यक्षमा इन्सेक प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ सप्तरीका सल्लहाकार मनोहर पोखरेललाई चयन गरिएको छ ।

गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलको अध्यक्षतामा बसेको भेलाबाट नवगठित व्यवस्थापन समितिको सचिवमा महादेवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष जयश्वर किशोर दास, सहसचिवमा महादेवा गाउँपालिकाकी महिला शाखा प्रमुख चनर कुमारी मण्डल र कोषाध्यक्षमा महिला मानव अधिकार रक्षक सञ्जालकी जिल्ला अध्यक्ष अनिता देवकोटा चयन हुनु भएको छ ।
यसैगरी सदस्यमा शिक्षा शाखाका योगेन्द्र सेठ, स्वास्थ्य शाखाका ललित कुमार यादव, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी सबिता वैरागी, मनोविमर्शकता रम्भाकुमारी सरदार र प्रहरी चौकी बथनाहाको प्रतिनिधिलाई राखिएको छ । सल्लाहकारमा गाउँपालिका अध्यक्ष मण्डल रहनु भएको छ ।
वैशाख १८ गते भएको भिषण आगलागीले प्रभावित भएका गर्भवती तथा सुत्केरी, हिंसापीडित महिला, बालबालिका र जेष्ठ नागरिक महिलाले स्नेह केन्द्रमा आश्रय लिनेछन् । ओरेक नेपाल र महादेवा गाउँपालिका मिलेर सञ्चालन गरेको स्नेह केन्द्रमा उनीहरुको खानपान, रहनसहन, सरसफाइलगायत आवश्यक सबै व्यवस्था मिलाइएको स्नेह केन्द्रकी इन्चार्ज मनोविमर्शकर्ता रञ्जना चौधरीले बताउनु भयो । यसका साथै विपद्का समयमा हुनसक्ने मनोसमस्यालाई ध्यानमा राखेर उपचारका साथै मनोसामाजिक परामर्शसमेत दिने गरिएको चौधरीले जानकारी दिनुभयो ।

विपद्का समयमा महिला तथा बालबालिका बढी जोखिममा हुन्छन्, त्यसैले आगलागी प्रभावित गाउँपालिकाको वडा नम्बर १ मा स्नेह केन्द्र सञ्चालनमा ल्याइएको ओरेककी कार्यकारी निर्देशक सुनिता मैनालीले जानकारी दिनुभयो । मैनालीका अनुसार आगलागीले घरवारविहिन भएका, घरमा बस्ने वातावरण नभएका, हिंसापीडित बनेका महिला, बालबालिकासहित केन्द्रमा बस्नु हुनेछ । घर फर्कने वातावरण नबनेसम्म उहाँहरूको खाने–बस्ने, उपचार र मनोसामाजिक परामर्श पाउनेलगायतको सबै व्यवस्था गरिएको छ ।
स्नेह केन्द्रमा महिलालाई विपद्पछि हुनसक्ने हिंसा, हिंसा भएमा के गर्ने, एकअर्कालाई कसरी सघाउने, तनाव व्यवस्थापन गर्ने तरिकासमेत सिकाउने गरिन्छ । विपद्का समयमा महिला तथा बालबालिकाको सुरक्षाका लागि गरिएको यो काम सराहनीय रहेको महादेवा गाउँपालिका अध्यक्ष मण्डलले बताउनु भयो ।

   

You cannot copy content of this page