मधेस प्रदेश समाचार समाज

सप्तरीमा श्रीमतीको हत्या आरोपमा ४ वर्षपछि श्रीमान् पक्राउ

राजविराज, ३ असार । सप्तरीमा श्रीमतीलाई हत्या गरी फरार रहेको अभियोगमा श्रीमानलाई ४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी ३० वर्षीया संगिता दाहाल श्रेष्ठको हत्या आरोपमा ४ वर्षपछि उनका पति ३४ वर्षीय गौतमकुमार श्रेष्ठलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
पीडितका भाई कल्याण दाहालको उजुरीको आधारमा आरोपित पक्राउ भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका इन्स्पेक्टर अवध किशोर ओझाले बताउनु भयो ।
पीडित र आरोपितबीच ०६८ वैशाख १५ गते प्रेम विवाह भएको थियो । सुरुमा दाम्पत्य जीवन सौहार्दपूर्ण रहे पनि पछि आरोपितले मादक पदार्थ सेवन गरेर स–साना बहानामा विवाद गरी गालीगलौज र कुटपिट गर्दै शारीरिक र मानसिक यातना दिँदै आएको मृतकका भाइ कल्याण दाहालले बताउनु भयो ।
आफ्नै घरमा पासोमा झुण्डिएको अवस्थामा ०७७ वैशाख २५ गते संगिताको शव फेला परेको थियो । शवको पोष्टमार्टम ०७७ वैशाख २५ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भएको थियो ।
आरोपितले हत्या गरी संगिताको शव पासोमा झुण्ड्याएर आत्महत्या देखाउन खोजको कल्याणले दावी गर्दै आउनु भएको छ ।

   

You cannot copy content of this page