शिक्षा समाचार

नन्दराज संग्रौला क्याम्पस रूपनगरका विद्यार्थीहरूलाई वडा अध्यक्ष छात्रवृत्ति वितरण

कञ्चनरूप, २७ असार । रूपनगर क्याम्पसका छात्र-छात्राहरूलाई बिहीबार एक समारोहका बीच ‘वडा अध्यक्ष छात्रवृत्ति’ वितरण गरिएको छ ।
सप्तरी जिल्ला, कञ्चनरूप नगरपालिका, वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीको विशेष पहलमा नगरपालिकाले उपलब्ध गराएको एक लाख रुपैयाँबाट रूपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थीहरूलाई सो छात्रवृत्ति दिइएको क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले जानकारी दिनुभयो ।
कञ्चनरूप-१२ का वडाध्यक्ष देवि बहादुर खत्रीले एक जना जेहेन्दार र पाँच जना विपन्न गरी छ जनालाई जनही १६ हजार ६६६ रुपैयाँको दरले छात्रवृत्ति रकमको चेक हस्तान्तरण गर्नु भयो ।
क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले क्याम्पसको प्रगतिका लागि आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । ‘यो छात्रवृत्ति रकमलाई पढाइमा हौसलाका रूपमा लिएर सदुपयोग गर्नु’ भन्दै उहाँले विद्यार्थीहरूलाई लगनशील भएर अध्ययनमा लाग्न सुझाव दिनु भयो ।
छात्रवृत्तिका लागि विद्यार्थी छनौट गर्न क्याम्पसले, १. कक्षामा उपस्थिति नियमितता, २. लिखित परीक्षा, ३. अन्तरवार्ता, ४. अघिल्लो परीक्षाको प्राप्ताङ्क लगायत विभिन्न मापदण्डको प्रावधान राखेर ‘छात्रवृत्ति कार्यविधि’ निर्माण गरेको र सोही आधारमा छात्रवृत्तिको निर्णय हुने गरेको जानकारी क्याम्पस प्रमुख प्राध्यापक गजुरेलले दिनु भयो ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित, बिबिएस पढाइ हुने रूपनगर क्याम्पसका विद्यार्थीहरूले यस वर्ष देखि ५ (पाँच) वटा छात्रवृत्ति पाउने व्यवस्था भएको जानकारी प्रा. गजुरेलले दिनु भयो । उहाँका अनुसार ती छात्रवृत्तिमा, १. विश्वविद्यालय अनुदान आयोगले दिने छात्रवृत्ति, २. मधेश प्रदेश सरकारको ‘छोरी छात्रवृत्ति,’ ३. वडा अध्यक्ष छात्रवृत्ति, ४. राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति, र ५. क्याम्पसले आफ्नै स्रोतबाट दिने छात्रवृत्ति गरी वर्षेनी पाँच वटा छात्रवृत्ति रूपनगर क्याम्पसमा भर्ना हुने विद्यार्थीहरूलाई उपलब्ध हुनेछन् ।
विश्वविद्यालय अनुदान आयोगबाट दिइने छात्रवृत्ति यस वर्ष रूपनगर नन्दराज संग्रौला क्याम्पसका २२ जना विद्यार्थीले पाए भने मधेश प्रदेश सरकारले दिने ‘छोरी छात्रवृत्ति’ पाँच जनाले पाए ।
विश्वविद्यालय अनुदान आयोगको छात्रवृत्ति एक पटक पाउने विद्यार्थीले स्नातक पढुन्जेल ४ वर्ष सम्म प्रत्येक वर्ष १५ हजार रुपैयाँ पाउने व्यवस्था छ ।
यसै गरी मधेश प्रदेश सरकारको छात्रवृत्तिको रकम वार्षिक २५ हजार रुपैयाँ छ ।
उपरोक्त दुबै छात्रवृत्ति सामुदायिक र आङ्गिक क्याम्पसमा पढ्ने विद्यार्थीले मात्र पाउने व्यवस्था छ ।

   

You cannot copy content of this page