शिक्षा समाचार

शिक्षा क्षेत्र राज्यको पहिलो प्रथामिकतामा नपर्नु दुखद : मन्त्री लेखी

राजविराज । शिक्षा राज्यको पहिलो प्रथामिकतामा नपर्नु दुखद भएको मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखीले बताउनुभयो ।
मधेस विश्व विद्यालय वीरगन्जमा मंगलबार सरोकारवालाहरुसँग भएको भेटघाटमा बोल्दै उहाँले यस्तो दुख व्यक्त गर्नुभएको हो ।
मधेस विश्व विद्यालयका सहकुलपति समेत रहनुभएका शिक्षामन्त्री लेखीले शिक्षा क्षेत्रलाई प्रमुख प्राथामिकतामा राखेर नीति नबनाएसम्म देशको समग्र विकास हुन नसक्ने जिकिर गर्नुभयो ।
शिक्षा क्षेत्रको विकास नभए कुनैपनि क्षेत्रको विकास सम्भव नरहेको बताउँदै उहाँले शिक्षालाई प्राथमिकतामा राख्न नसक्नु नै देशको लागि दुर्भाग्य भएको बताउनु भयो ।
चालू आर्थिक वर्षका लागि मधेस प्रदेशले ल्याएको बजेटमा पनि शिक्षा क्षेत्र प्राथमिकतामा पर्न नसकेको बताउँदै मन्त्री लेखीले मधेस प्रदेशमा अहिले नेतृत्व गरेको दल जनमत पार्टीका मुख्यमन्त्रीलाई बारम्बार आफुले शिक्षालाई प्राथामिकतामा राख्न र पर्याप्त बजेट विनियोजन गर्न माग गर्दा पनि शिक्षामा संतोषजनक बजेट नरहेको गुनासो गर्नुभयो ।
संघीयता कार्यान्वयनमा आएको ७ वर्षमा पनि स्थानीय तहका सरकारहरुले शिक्षा क्षेत्रमा गरेको बजेट विनियोजन निकै निराशाजनक रहेको बताउँनु भयो । संघीय सरकारले पनि उच्च प्राथमिकतामा राख्न नसकेको भन्दै मन्त्री लेखीले शिक्षा राज्यको छैटौं प्राथमिकतामा मात्रै परेको बताउँदै अघिल्लो ७ वर्षमा मधेस प्रदेशमा शिक्षा नीति समेत बन्न नसके जानकारी गराउँदै मन्त्री लेखीले आफूले मन्त्रालयमा पदभार ग्रहण गरेको दिन नै शिक्षा नीति बनाउने पहिलो निर्णय गरेको सुनाउनुभयो ।
शिक्षा नीति निर्माणका लागि ११ सदस्यीय समिति समेत बनाएको जानकारी गराउँदै त्यसको केही बैठक र कार्यक्रम अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले आफू राम्रो गर्न सक्छु भन्ने आत्म विश्वासका साथ अगाडि बढेको बताउँदै सबैपक्षको सहयोग र साथ आवश्यक रहेको पनि बताउनुभयो ।
सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु, शैक्षिक गुणस्तरलाई कसरी राम्रो गर्ने भन्नेमा ध्यान नदिएर पर्खाल र पूर्वाधारहरूमा ध्यान दिने गरेको प्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । कार्यक्रममा उहाँले मधेस विश्वविद्यालयको विकासका लागि बजेटको कमी हुन नदिने बताउँदै स्रोत व्यावस्थापन गर्ने आश्वासन दिनुभयो ।
मधेस विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य वीणा शर्मा, नेकपा एमाले पर्साका सचिव महेश दास, एमाले नेता सुन्दरकुर्मी, लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण मधेस विश्व विद्यालयका रजिष्टार विजय यादवले गर्नुभएको थियो । कार्यक्रमपछि मन्त्री लेखीले मधेस विश्वविद्यालयको प्रशासनिक भवन, कक्षा तथा भौतिक पूर्वाधारको अवलोकन समेत गर्नुभएको थियो ।

   

You cannot copy content of this page