धर्म संस्कृति समाचार

आज श्रावणको पहिलो सोमवार, सप्तरीका शिवालयहरुमा भक्तजनको भिड

oppo_2

उत्सव आचार्य /
कञ्चनरुप, ७ साउन । आज साउन महिनाको पहिलो सोमबार, सप्तरीका शिवालयहरुमा बिहानैदेखि पूजा गर्ने भक्तजनहरुको घुइँचो लागेको थियो ।
साउन महिना र सोमबार भगवान्‌ शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने गर्छ। भगवान शिवजीको प्रिय महिना र बार भएकाले व्रत बस्ने परम्परा पनि छ ।
हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो सप्तरीको धर्मेश्वर महादेव मन्दिर, राजबिराजको हरिनन्देश्वर महादेव मन्दिर, शुम्भुनाथ महादेव मन्दिर, कञ्चनरुपको भजनेश्वर महादेव मन्दिर, त्रिमार्ग शिवालय मन्दिर, अंकुरी महादेव लगायतका स्थानमा देख्न सकिन्छ ।
भक्तजनहरुको लागि स्थानीयबासीहरु तथा बिभिन्न संघसंस्थाले बेलपत्र, फूल लगायत पूजा सामाग्री ठाउँ–ठाउँमा निःशुल्क वितरण समेत गरेका छन् । मन्दिर परिसरमा साधु सन्त तथा भक्तजनले भजन कीर्तन गरी शिव आराधना गरिरहेका छन् । मन्दिर बाहिरको बजारमा स्थानीय मेला समेत लागेको थियो ।
जिल्लाको कञ्चनरुप नगरपालिका १२ धरमपुर स्थित ऐतिहाँसिक एवम् पुरातात्विक महत्वको धर्मेश्वर महादेव मन्दिरमा बिहानै देखि पूजापाठ गर्ने भक्तजनहरुको भिड लागेको छ । यसैगरी राजबिराजको हरिनन्देश्वर महादेव मन्दिरमा पनि भक्तजनहरूको घुँइचो लागेको थियो ।
त्यसैगरी जिल्लाकै शम्भुनाथ नगरपालिका स्थित रहेको शम्भुनाथ महादेव मन्दिरमा बिहानैदेखि भक्तजनहरुले पूजाआजा गरेका छन् । विभिन्न ध्वजापताकाले सिंगारिएको सो मन्दिरमा दर्शनका लागि सप्तरी, सिरहा तथा भारतको बिहार राज्यको सुपौल र मधुवनी जिल्ला लगायत शहरी तथा ग्रामिण क्षेत्रका धर्मालम्वीहरु व्रतालुहरु बिहानैदेखि लामबद्ध भएर पूजा गरिरहेका छन् ।
त्यस्तै सप्तकोशी नगरपालिका फत्तेपुर स्थित शिवालय, कञ्चनरुप –६ बलुवा स्थित रहेको भजनेश्वर महादेव मन्दिर, कञ्चनरुप –८ स्थित रहेको शिवालय मन्दिर , कञ्चनरुप–१२ रुपनगर स्थित रहेको त्रिमार्ग शिवालय मन्दिर, राजविराज १ मा रहेको शिवालय मन्दिर, महादेवा गाउँपालिका स्थित शिवालय मन्दिर, हनुमाननगर कंकालिनी २ मा रहेको महादेव मन्दिर, पातोको डाक्नेश्वरी मन्दिर, वभनगामाकट्टिको महादेव मन्दिर लगायतका शिवालयमा भक्तजनहरू बिहानैदेखि स्नान गरी महादेवको पूजाआराधनामा व्यस्त छन्।
यस वर्ष साउनमा चार वटा सोमबार परेको छ । यस साउन महिनामा भगवान् शिवको विशेष पूजा–आराधना गर्दा विशेष फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ । यो महिनामा भगवान् शिवलाई खुसी पार्नुपर्छ भन्ने गरिन्छ । व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् ।
साउन महिनामा बिहान सबेरै उठेर नुहाएर सफा लुगा लगाउनुपर्छ । साउनभर भोलेनाथको व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउँदा राम्रो हुने जनविश्वास रहिआएको छ । साउनको सोमबार भगवान शिवको प्रिय हुने विश्वासका साथ अन्य बारको तुलनामा सोमबारको दिन शिवालयहरुमा पूजा गर्ने भक्तजनहरुको बढी घुइँचो लाग्छ ।
साउन महिनाको सोमबार व्रत बसेर शिवको पुजा आराधना गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
साउन महिनामै देशका विभिन्न शिवालयहरुमा दर्शन गर्न बोलबम यात्रा गरिन्छ । बोलबममा खाली खुट्टा हिडेर विभिन्न नदी तथा तलाउको पवित्र जल शिवमन्दिरमा चढाउने गरिन्छ ।
साउन महिनामा हिन्दु धर्माबलम्वी महिलाहरुले सुख शान्ति र समृद्धीको प्रतिक हरियो बस्त्र र चुरा पोतेमा सजिएर ब्रत बस्दै भगवान शिवको आराधना समेत गर्दछन् ।
साउनको पहिलो सोमबारदेखि अन्तिम सोमबारसम्म व्रत गरेका भक्तजनले अन्तिम दिनमा गोदान एवं पूर्णपात्रदान गरी व्रत समापन गर्दछन् ।

   

You cannot copy content of this page