समाचार

टेवुलटेनिस संघको अध्यक्षमा हमाल

काठमाडौं , ९ भदौ ।
काठमाडौमा सम्पन्न अखिल नेपाल टेबुल टेनिस संघको साधारण सभालें बृजेन्द्र बहादुर हमाल अध्यक्षमा निर्वाचित भएका छन् ।
राष्ट्रिय टेबुलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न साधारण सभाबाट हमालको अध्यक्षतामा उपाध्यक्षहरु गोबद्र्धन श्रेष्ठ, मनोहर पोखरेल र पूर्णशंकर श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिका प्रमुख सरोजकुमार पोखरेलले जानकारी दिए ।
यसैगरी महासचिवमा कुबेर प्रकाश सिंह, सचिवमा प्रज्वलकान्त मैनाली र कोषाध्यक्षमा ज्याकी श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरुमा शिवसुन्दर गोथे, नरबहादुर क्षेत्री, रिषिराज लहरे, नविनबहादुर सिंह र सन्तोष कुमार पौडेल निर्वाचित भएका छन् ।
संघको शनिबार राति बसेको प्रथम पूर्ण वैठकले सहअध्यक्षमा शंकर गौतम, उपाध्यक्षहरुमा सुमन खडगी, अनुज बानिया, प्रकाश पौड्याल, मनिस गहतराज, सचिवमा संजय अर्याल, राजेन्द्र बहादुर दुलाललाई मनोनयन गरेको छ । त्यस्तै सदस्यहरुमा जयन्त बास्तोला, सरीता श्रेष्ठ, हिक्मत बहादुर मल्ल र गीता शाह क्षेत्रीलाई मनोनयन गरेको अध्यक्ष हमालले जानकारी दिए ।
साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले गरेका थिए । साधारण सभालाई नेपालका प्रथम टेबुल टेनिस प्रशिक्षक रमेशराज जोशी, ओलम्पियन दिपक विष्ट, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठलगायतकाले शुभकामना व्यक्त गरेका थिए ।
तीन पटक म्याद थप गर्दा समेत संघको तदर्थ समितिले चुनाव गराउन नसके पछि राष्ट्रिय खेलकुद परिषद्ले निर्वाचन समिति बनाएर साधारण सभा सम्पन्न गरेको हो । उच्च अदालत पाटनको ०७५ फागुन ८ गतेको फैसला कार्यान्वयनका लागि निर्वाचन सम्पन्न गराउने प्रयोजनका साथ ०८० साउन ३१ गते संघको तदर्थ समिति गठन भएको थियो । तदर्थ समितिको ३, २ र पुनः ३ महिना म्याद थप गरिएको थियो । निर्वाचनका लागि ०८० चैत २१ गते प्रथम पटक सूचना प्रकाश भएको थियो ।
सो अनुसार निर्वाचन नभएपछि जेठ २५ गते युवा तथा खेलकुद मन्त्रीको निर्देशनमा परिषद्ले खेलकुद विकास विभाग प्रमुख सरोजकुमार पोखरेलको नेतृत्वमा निर्वाचन समिति गठन गरेको थियो । निर्वाचन समितिको साउन १३ गतेको निर्णयअनुसार साउन १५ गते निर्वाचन सम्बन्धी सूचना प्रकाशन भएको थियो ।
२०७३ साउन ५ र ०७३ मंसिर १४ गते भएको भनिएको निर्वाचन पूर्वको अवस्थामा गई संघको पुनः निर्वाचन सालमा चुनावमा विवाद भएपछि हमाल पक्षले अदालतमा मुद्दा हालेको थियो भने चतुरानन्दराज वैद्य पक्षले आफूलाई वैधानिक अध्यक्ष मान्दै आएको थियो । चार वर्षे कार्यकाल रहेको संघको निर्वाचन र साधारण सभा २०७३ यता भएको थिएन् ।

   

You cannot copy content of this page