रवि शर्मा /
भारदह , २१ भदौ । मिथिलाञ्चलमा आज ‘चौरचन’ पर्व धूमधामसँग मनाइँदै छ। यो पर्व विशेष गरी सप्तरी, धनुषा, महोत्तरी, सिरहा र सर्लाहीका साथै भारतको बिहार राज्यका सीमावर्ती क्षेत्रहरूमा पनि मनाइन्छ।
चौरचन पर्व भाद्र शुक्लपक्षको चतुर्थी तिथिमा मनाइन्छ, जसमा चन्द्रमाको पूजा गरिन्छ। यस दिन व्रत बस्ने महिलाहरू राति व्रत गरेर चन्द्रमालाई अघ्र्य अर्पण गर्छन्। यस पर्वमा व्रत बस्ने महिलाहरू दिनभर निराहार रहन्छन् र साँझ चन्द्रमा उदाउँदा पूजा सामग्री सजाएर चन्द्रमाको दर्शन गर्छन्।
चौरचन पर्वलाई मिथिलामा अत्यन्तै धार्मिक आस्थाका साथ मनाइन्छ। यो पर्व तीजको १२ दिनपछि मनाइन्छ र छठ पर्वपछि दोस्रो ठूलो पर्वको रूपमा लिइन्छ। यस पर्वको अवसरमा आँगनमा चामलको पीठोको अरिपन बनाएर पूजा गरिन्छ। साथै, नयाँ माटोको भाँडोमा दही, मिठाई, फलफूल र पकवान चढाएर पूजापाठ गर्ने चलन छ।
चौरचन पर्व मिथिला कला संस्कृतिको उजागर गर्ने पर्व पनि हो। यस पर्वको तयारीमा महिलाहरू घरघरमा प्रसाद तयार गर्न व्यस्त छन्। यस पर्वलाई हेमाङ्ग ठाकुरले प्रचलनमा ल्याएको बताइन्छ, जो ज्योतिषी थिए र यस दिन शुभफल प्राप्त भएकाले यो पर्व सुरु गरेका हुन्।










