समाचार

तलब भत्ता रोकिएको भन्दै हनुमाननगरका शिक्षकहरुले बुझाए नगर प्रमुखलाई ज्ञापन पत्र

रवि शर्मा /
हनुमाननगर (सप्तरी) । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा कार्यरत शिक्षक तथा कर्मचारीहरुले तलब भत्ता नपाएको विरोधमा ज्ञापन पत्र बुझाएका छन् । शिक्षक तथा कर्मचारीहरुले २०८१ साल श्रावण महिनादेखि तलब भत्ता नपाएको आरोप लगाएका छन् ।
नेपाल सरकारले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको तलब भत्ता मासिक रुपमा बैंकमार्फत भुक्तानी गर्न निर्देशन दिएको भए पनि, हनुमाननगर कंकालिनी नगरपालिकाले यसलाई कार्यान्वयन नगरेको उनीहरुको आरोप छ। दशैंजस्तो महत्वपूर्ण चाडको समयमा समेत तलब भत्ता नपाउँदा उनीहरु मर्माहत भएका छन्।
ज्ञापन पत्रमा भनिएको छ, “राजनीतिकरणको कारण देखाउँदै, नगरपालिकाले शिक्षक तथा कर्मचारीहरुको तलब भत्ता रोकेको छ, जसले हाम्रो जीवनयापनमा गम्भीर संकट उत्पन्न गरेको छ। बारम्बार मौखिक रुपमा अनुनय गर्दा पनि कुनै सुनवाई नभएको हुँदा हामी बाध्य भई आन्दोलनको बाटो अपनाउनुपरेको छ।”
शिक्षक तथा कर्मचारीहरुले तीन दिनभित्र तलब भत्ता उपलब्ध नगराइएमा मिति २०८१ साल कार्तिक ११ गतेदेखि सम्पूर्ण विद्यालय बन्द गरी नगरपालिकाको मूल गेटमा धर्ना दिने चेतावनी दिएका छन्।
ज्ञापन पत्र विभिन्न सरोकारवाला निकायहरुमा समेत जानकारी गराइएको छ, जसमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाई, पत्रकार महासंघ, र नेपाल शिक्षक महासंघ छन्।
नगरपालिकाले यो समस्यालाई सम्बोधन गर्ने वा शिक्षकहरुको आन्दोलनले नगरपालिकामा शिक्षण गतिविधि प्रभावित हुने कुरा आउँदो केही दिनमा स्पष्ट हुनेछ।

   

You cannot copy content of this page