कञ्चनरूप, १२ कार्तिक । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा एक जनाको घरबाट चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ का २३ वर्षीय देवेन्द्र मुखिया रहेका छन् ।
शनिबार १२:४० बजेको समयमा छिन्नमस्ता गाउँपालिका ३ सखडा बस्ने भोगेन्द्र साफी रजकको पत्नी सुनिता देवी रजक आँगनमा काम गरिरहेको मौका छोपेर मुखिया कोठा प्रवेश गरी बाकसबाट रु १ लाख ३० हजार चोरी गरी भागेको प्रहरीको भनाई छ ।
सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मुखियालाई नियन्त्रणमा लिई खानतलासी गर्दा ९९ हजार ८५५ रुपैयाँ बरामद भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
मुखियाबिरुद्ध चोरी मुद्दामा सप्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको डिएसपी बस्नेतले बताउनु भयो ।