कञ्चनरूप, १९ कार्तिक । सप्तरी प्रहरीले भन्सार छलेर भारतबाट नेपालतर्फ कपडा ल्याउँदै गरेको अवस्थामा आइतबार दुई जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय राजविराज, सप्तरीबाट खटिएको प्रहरी टोलीले गस्ती तथा चेक जाँच गर्ने क्रममा राजबिराज नगरपालिका वडा नं. १६ बोरिया सडक खण्डबाट राजविराज तर्फ आउँदै गरेका उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
जिल्लाको राजगण गाउँपालिका वडा नं.०३ निवासी १९ वर्षीय प्रेम कुमार साहले चलाई राखेको स ९ प २५६७ नम्बर (१६० सि.सि.) को अपाची मोटरसाईकल र उक्त मोटरसाईकल पछाडी सवार सोही ठाउँका १८ वर्षीय संतोष कुमार यादवले बोकेको सेतो प्लाष्टिकको बोरा चेकजाँच गर्दा उक्त बोराभित्र रहेका विभिन्न लता कपडाहरु भारतबाट अवैध रुपले भंसार छली पैठारी गरी २ लाख ६२ हजार ३ सय ३० रुपैयाँ मुल्य बराबरको कपडा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदय कुमार राईले जानकारी दिनुभयो ।
कपडासहित उनीहरुले चढेको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
बरामद कपडा, मोटरसाईकल, चालकसहित दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।