राजनीति समाचार

सप्तरीको डाक्नेश्वरी-१ र ४ को वडाअध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी दर्ता

कञ्चनरूप, ०२ मंसिर । आगामी मङ्सिर १६ गते हुने सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ को वडाध्यक्ष पदको उपनिर्वाचनका लागि १७ जनाको उम्मेदवारी परेको छ ।
पातो स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार भएको उम्मेदवारी दर्तामा वडा नम्बर १ मा २ स्वतन्त्रसहित ९ दलले उम्मेदवारी दर्ता गराएका हुन । त्यस्तै वडा नम्बर ४ मा ८ दलले उम्मेदवारी दर्ता गराएका छन् ।
वडा अध्यक्ष पदका लागि नेकपा एमाले, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी केन्द्र, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी लगायत दर्जनबढीको उम्मेदवारी परेको छ ।
नेकपा एमालेबाट १ नम्बर वडा अध्यक्षमा संजय यादव र ४ नम्बर वडा अध्यक्षमा जोगिन्द्र राय, जसपा नेपालबाट १ नम्बर वडा अध्यक्षमा धिरेन्द्र साह र ४ नम्बर वडामा देबेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । वडा नम्बर १ का अध्यक्षका उम्मेदवार साहका वारेस राजेश्वर रायले उम्मेदवारी दर्ता गराएका छन् ।
वडा अध्यक्षको उम्मेदवार बनेका साह नेकपा एमाले परित्याग गरी केही दिनअघि मात्र जसपामा प्रवेश गरेका थिए ।
यसैगरी नेपाली काँग्रेस १ नम्बर वडा अध्यक्षमा भगवानी साह र वडा नम्बर ४ मा भुलिया देवी थरुनी, नेकपा माओवादी केन्द्र १ नम्बर वडा अध्यक्षमा प्रमोद कुमार संत र ४ नम्बर वडा अध्यक्षमा भागवत राम र नागरिक उन्मुक्तिबाट १ नम्बर वडा अध्यक्षमा अनिरुद्व प्रसाद चौधरी, ४ नम्बर वडा अध्यक्षमा शिव कुमार रामले मनोनयन दर्ता गराएको जनाएको छ ।
यसैगरी जनमत, लोसपासहितका अन्य दल र स्वतन्त्रबाट समेत उम्मेदवारी दर्ता भएको मुख्यनिर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मंसिर १६ गते हुने उपनिर्वाचनमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ र ४ वडामा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

   

You cannot copy content of this page