समाचार

सुनसरीको लौकही बजारबाट नक्कली नोट सहित २ जना पक्राउ

सुनसरी, ११ मंसिर  । सुनसरी प्रहरीले कोशी गाउँपालिका-१ स्थित लौकही बजारबाट नक्कली नोट सहित २ जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरुमा भारत बिहारका ३१ वर्षीय रामनाथ राय र सुन्दरहरैचा मोरङका २० वर्षीय सन्देश उराव रहेको प्रहरीले जनाएको छ । 
पक्राउ परेका उनीहरुको साथबाट नेपाली रुपैयाको नक्कली नोट १ हजार दरको ४ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 
सोमबार राती साढे ८ बजे लौकही बजारमा रहेको मनिष किराना पसलमा उनीहरुले सामान किनमेल गरी १ हजारको नोट दिएकोमा उक्त नोट नक्कली रहेको संका लागी पसल धनीले तत्काल प्रहरीलाई खवर गरेका थिए । सूचना पाएसँगै इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका उनीहरुको साथबाट २ थान र सामान किनेको दुईओटा पसलबाट १/१ थान एक हजार दरको नेपाली रुपैयाको नक्कली नोट बरामद गरेको थियो । 
नक्कली नोट सहित पक्राउ परेका दुबै जनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

   

You cannot copy content of this page