कञ्चनरूप, १२ मंसिर । आँखाका बिरामीहरूको सुविधाका लागि सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर-१२ स्थित रुपनगरमै निशुल्क आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।
तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौं, तिलगंगा कञ्चनरुप सर्जिकल आँखा केन्द्र रुपनगर , कञ्चनरुप नगरपालिका र कृति सामुदायिक स्वास्थ उपचार केन्द्र रुपनगरको संयुक्त आयोजनामा सोमबारदेखि सञ्चालित तीन दिने निशुल्क विशेषज्ञ शिविरमा ४ सय ६ जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो र २ जनाको टेरिजियमको शल्यक्रिया गरिएको छ ।
कृति सामुदायिक स्वास्थ उपचार केन्द्र रुपनगरको भवनमा तीन दिनसम्म सञ्चालित शिविरमा महिला २ सय २५ जना र पुरुष १ सय ८१ जनाको आँखाको मोतियाबिन्दु गरिएको तिलगंगा कञ्चनरूप सर्जिकल रूपनगरका अनिल साउदले जानकारी दिनुभयो ।
सप्तरीको विभिन्न स्थानीय तहबाट छनौट गरेर आँखाका मोतियाबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको कृति सामुदायिक स्वास्थ उपचार केन्द्र रुपनगरका अध्यक्ष अमर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सम्पन्न शिविरमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका चिकित्सक श्याम ब्यास नेतृत्वको आँखा चिकित्सक टोलीले शल्यक्रिया सहितको उपचार गरेका थिए ।
शल्यक्रिया शिविरमा आँखाको शल्यक्रिया गरिएका बिरामीहरूलाई निःशुल्क औषधी वितरण गर्नुको साथै शल्यक्रिया गरिएको आँखाको स्वास्थ्य सुरक्षाबारे सचेतना गरिएको थियो।