समाचार

सप्तरीको कोशी पलारमा अन्दाजी ११ वर्षीया बालिकाको शव फेला

रवि शर्मा /

भारदह, १६ मंसिर । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नं. ११ स्थित सखुवा टोल नजिकको कोशी नदीमा एक बालिकाको शव फेला परेको छ ।
आइतबार बिहान ११:३० बजे कोशी पलारमा अन्दाजी ११ वर्षीया बालिकाको मृत अवस्थामा शव फेला परेको हो ।
स्थानीय बासीहरूले कोशी पलारमा शव देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटी घटना स्थल पुगेको थियो ।
प्रहरीका अनुसार कोशी पलारमा ३ फिट पानीमा हेर्दा तत्काल नाम थर वतन नखुलेको तराई मुल्कको जस्तो देखिने बालिका मृत अवस्थामा फेला परेकी हुन् । 
निजको हालसम्म सनाख्त हुन सकेको छैन ।बालिकालाई चिन्नु हुने जो कसैले जिल्ला प्रहरी कार्यालय सप्तरी वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न हुन सबै पक्षसँग प्रहरीले अनुरोध गरेको छ ।
घटनाको यथार्थ पत्ता लगाउन प्रहरीले विस्तृत अनुसन्धान थालिसकेको जनाएको छ ।
शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको र कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  
केही दिनअघि मात्र रोयल बोर्डिङ स्कुलमा अध्ययनरत एक छात्रामाथि ज्यान मार्ने प्रयास भएको थियो । 
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ गंगापुरकी एक छात्रामाथि अज्ञात समूहले ज्यान मार्ने प्रयास भएको थियो । 
उनी मङ्सिर १२ गते बुधबार बिहान ५:१५ बजे आफ्नो घरबाट अध्ययन गर्नका लागि भारदहस्थित रोयल सेकेन्डरी बोर्डिङ स्कूल जाँदै थिइन्। विद्यालयबाट झन्डै १५० मिटर पश्चिमतर्फको बाटोमा अज्ञात समूहले उनलाई रोकी गलामा डोरी बाँधेर चौराले कुटपिट गरेका थिए ।
पीडितले घटनाको विवरण दिँदै आक्रमणकारी समूहबाट एकजना व्यक्तिले “यो केटी होइन?” भनेर सोधपुछ गरेपछि उनलाई छोडेर समूह फरार भएको बताइन् । घटनापछि पीडितको गालामा गम्भीर चोट लागेको छ, जसका कारण उनी सामान्य हिँडडुल गर्नसमेत सकेकी थिइनन् ।
घटनाले स्थानीय बासिन्दामा त्रास फैलाएको छ ।

   

You cannot copy content of this page