कञ्चनरूप, १७ मंसिर । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ को वडा अध्यक्ष पदमा जसपा नेपालका उम्मेदवार विजयी भएका छन् ।
डाक्नेश्वरी नगरपालिका–१ को वडा अध्यक्ष पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार धिरेन्द्र कुमार साह विजयी हुनुभएको छ ।
आइतबार सम्पन्न उपनिर्वाचनमा साहले ६ सय ५२ मत प्राप्त गर्दै विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश कुमार जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार साहका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी भूलियादेवी थरुनीले ५ सय ८७ मत प्राप्त गर्नुभएको छ ।
यस्तै नेकपा (एमाले) का उम्मेदवार भगवानी साहले २ सय ६५ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय प्रजातान्त्रिक पाटीका सतिश कुमार चौधरी थारुले १६५ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी डाक्नेश्वरी–४ को वडा अध्यक्ष पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालकै देबेन्द्र प्रसाद यादव विजयी हुनुभएको छ ।
यादवले ३ सय ७२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । यादवका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका जोगिन्द्र अमात्यले २७७ प्राप्त गर्नुभएको छ ।
यस्तै जनतमत पार्टीका उम्मेदवार उदयनारायण पन्डितले २ सय ३१ मत ल्याउनु भएको छ ,भने नेकपा (एमाले) का उम्मेदवार संजय कुमार यादवले ६८ मत प्राप्त गर्नुभएको छ ।