कोशी प्रदेश समाचार

सरकारी नम्बर प्लेट भएका दुई वटा गाडीबाट ६९० किलो गाँजा बरामद 

विराटनगर । सुनसरी प्रहरीले सरकारी नम्बर प्लेट भएका दुई वटा गाडीबाट ६ सय ९० किलो गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानको टोलीले मंगलबार राति धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो। 
प्रहरीले गाँजासहित मोरङको सुन्दर हरैंचा-११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मालाई नियन्त्रणमा लिएको छ भने फरार भएका अर्का चालकको खोजी भइरहेको जनाएको छ ।
धरान-१३ अमरहाट भन्ने स्थानमा प्रहरीको चेकिङ छलेर भाग्ने क्रममा गाडी र चालक नियन्त्रणमा लिन ४ राउण्ड गोली फायर गर्नुपरेको सुनसरी प्रहरीले जनाएको छ । 
प्रहरीले लागुऔषध गाँजासहित बरामद सरकारी नम्बर प्लेटका गाडीको सन्दर्भमा अनुसन्धान अघि बढाइएको जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा गाँजा बोक्न प्रयोग भएका दुवै गाडीको नम्बर प्लेट भने सरकारी निकायका गाडीको नम्बरसँग मेल खाएको छ ।
बा १ झ ५१२७ नम्बरको नम्बर प्लेट कानून तथा न्याय मन्त्रालयको गाडीसँग मेल खाएको छ । त्यसैगरी बा १ झ ४६०५ नम्बर भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गाडी नम्बरसँग मिलेको प्रहरीको भनाइ छ ।
नम्बर प्लेट मिले पनि गाडी सम्बन्धित कार्यालयको हो कि होइन ? भन्ने विषय अनुसन्धानपछि मात्र खुल्ने पत्रकार सम्मेलनमार्फत प्रहरीले बताएको छ ।

   

You cannot copy content of this page