कञ्चनरूप, २२ मंसिर । लिटिल फ्लावर स्केन्ड्री बोर्डिङ स्कुललाई पराजित गर्दै बालबोध स्केन्ड्री बोर्डिङ स्कुल फाइनलमा प्रवेश गरेको छ ।
स्व. राजु गौतम दोस्रो विद्यालय स्तरीय टि-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा लिटिल फ्लावरलाई ७ बिकेटले पराजित गर्दै बालबोध फाइनलमा प्रवेश गरेको हो ।
शनिबार कञ्चनरुप नगरपालिका -१२ स्थित सुन्दरी खेल मैदानमा लिटिल फ्लावरले जितका लागि दिएको १ सय ३६ रनको लक्ष्य बालबोधले १३.४ ओभरमा पूरा गरेको थियो ।
बालबोध स्कुलका खेलाडी अभिमन्यु सरदारले ४३ बलमा ५१ रनको अर्धस्तक पारी खेल्दै आफ्नो टिमलाई जिताउन सफल भए । सरदार नटआउट रहदै म्यान अफदी म्याच समेत भए ।
लिटिल फ्लावर स्कुलका खेलाडी ललित यादवले ३१ बलमा ३४ रन तथा प्रविन भुजेलले २५ रन बनाए ।
त्यसैगरी शनिबार नै भएको दोस्रो सेमिफाइनल खेलमा ईन्टर नेशनल बोर्डिङ स्कुललाई पराजित गर्दै शंकर माध्यमिक विद्यालय रुपनगर फाइनलमा प्रवेश गरेको छ ।
शंकर माध्यमिक विद्यालयले ईन्टर नेशनललाई १ सय २८ रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।
शंकरले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको इन्टर नेशनल बोर्डिङ स्कुल १४.४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ५६ रन मात्र बनाउन सफल भयो ।
शंकर माध्यमिक विद्यालयका खेलाडी सुरज यादवले २२ बलमा ५० रन बनाएका थिए । उनले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिदै म्यान अफ द म्याच समेत घोषित भए ।
आइतबार हुने फाइनल खेल शंकर माध्यमिक विद्यालय रुपनगर र बालबोध स्केन्ड्री बोर्डिङ स्कुल बीच हुने भएको छ ।
फाइनल खेल आइतबार बिहान १० बजेदेखि शुरु हुने आयोजकका अभिषेक गौतमले जानकारी दिए ।