कञ्चनरूप, ११ पुस । बुधबार राती सप्तरीको कञ्चनरूप-८ स्थित कञ्चनपुरमा रहेको सुनचाँदी पसलमा चोरी भएको छ ।
कञ्चनरुप नगरपालिका-८ कंचनपुर बजारस्थित रहेको न्यू महालक्ष्मी ज्वेलर्समा चोरी भएको हो । सुनचाँदी पसलबाट सुन तथा चाँदीका तयारी गहनासहित ४२ लाख रुपैयाँ बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।
पसल संचालक मुकेश साहका अनुसार रातीको समयमा आएका चोरहरुले पसलको सटरमा लगाइएको ताला फुटाइ चोरी गरेको देखिएको छ । उनले पसलमा तयारी अवस्थामा रहेको सुनचाँदीका गरगहना लगायतको सामानहरु चोरी भएको बताए । चोरी गर्ने व्यक्ति सिसि टिभि फुटेजमा देखिएको र योजनाबद्ध रुपले चोरी गरिएको दाबी साहले गरेका छन् ।
यस चोरीको घटनाले बजार क्षेत्रका व्यापारीहरु त्रसित छन् । व्यापारीहरुले बजारको मुख्य क्षेत्रबाटै चोरी हुँदा समेत संलग्नहरुलाई प्रहरीले नियन्त्रणमा लिन नसक्नु दुखद रहेको बताएका छन् ।
ईलाका प्रहरी कार्यालय,कञ्चनपुरका प्रहरी निरीक्षक सुशान्त मिश्रले चोरीमा संलग्नहरुको खोजी कार्य भइरहेको र चोर छिट्टै पक्राउ पर्ने बताए ।