राजविराज, २२ पुस । पैसा डबल गर्ने धन्दा चलाएको आरोप लागेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ बभनगामा टोलका हनुमानी भनिने रामबहादुर रजक पक्राउ परेका छन्।
‘पैसा डबल गर्दिने’ लोभ देखाएर दर्जनौं ब्यक्तिबाट करोडौं ठगी गरेको आरोप लागेको उनलाई नियन्त्रणमा लिई सोमबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।
उनलाई आइतबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उनलाई सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
वर्षौदेखि ठगी धन्दामा संलग्न भएको भन्दै गुनासो र उजुरी समेत परेपछि अनुशन्धानका लागि पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
पक्राउ परेका रजकका सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको सप्तरी प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
साथै निज प्रतिवादीले अन्य कोही व्यक्तिहरुलाई समेत ठगी गरेको भए निजहरुलाई लिखित उजुरी सहित कार्यालयमा सम्पर्क राख्न जिल्ला प्रहरी कार्यालय सप्तरीले अनुरोध गरेको छ ।