कञ्चनरूप , २३ पुस । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं १२ रुपनगर स्थित रहेको श्री शंकर माध्यामिक विद्यालय काष्ठमहल रुपनगरको ७३ औं वार्षिक उत्सव भव्यरुपमा सम्पन्न भएको छ ।
शंकर मावि रुपनगरको प्राङ्गणमा कञ्चनरूप नगरपालिकाको नगर प्रमुख ललन प्रसाद गुप्ताको प्रमुख आतिथ्यता तथा नगर उप प्रमुख मुनाकुमारी पोखरेलको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।
वार्षिक उत्सव कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नवराज खडका, १२ नम्बरका वडा अध्यक्ष देबिबहादुर खत्री , समाजसेवी , शिक्षा प्रेमी , अभिभावक , संचारकर्मी , विभिन्न संघ संस्थाका प्रतिनिधि , वडा सदस्य लगायतका व्यक्तिहरुको उपस्थिति थियो।
स्वागत मन्तव्य शिक्षक अम्बिका बास्तोला र कक्षा १० का विद्यार्थी प्रमोद यादवले दिएका थिए ।
वडा नम्बर १२ का वडा सदस्य जैनिद्दिन मियाले व्यक्तित्व विकास र चेतनाको स्तरलाई अभिवृद्धि गर्न विद्यालयको अमीट भूमिका रहने भन्दै विद्यालयको भूमिकाको सह्राहना व्यक्त गरे।
सर्बोदय माबिका प्रधानाध्यापक तारानन्द मल्लिकले आफ्नो भनाइ राख्दै विद्यालय सुन्दर भविष्य निर्माणको पवित्र ठाउँ भएको बताए। शिक्षक, अभिभावक, विद्यार्थी र समाज समेतको सकरात्मक भूमिकाबाट मात्र अप्ठ्यारो र चुनौतिको सामना गर्न सकिने र शिक्षाको सुन्दर फलहरु प्राप्त गर्न सकिने बताए।
नेपाल शिक्षक संघ मधेस प्रदेशका अध्यक्ष पर्शुराम यादवले सामुदायिक विद्यालयहरूमा शंकर माविले दिएको शैक्षिक गुणस्तर र नतिजाको मूल्यांकन सँधै भैरहने बताए। शंकर माविको गर्विलो इतिहास स्मरण सँधै गर्दै अगाडी बढ्नुपर्ने कुरामा उनको जोड थियो।
पुर्व प्रधानाध्यापक तिर्थराज पोखरेलले शुभकामना मन्तव्य राख्दै विद्यालयमा राजनीति घुस्न नहुने भन्दै विद्यालयलाई शिक्षाको मन्दिर बनाउनुपर्ने कुरामा जोड दिए । शिक्षा क्षेत्रमा योगदान दिएको शैक्षिक व्यक्ति नै शिक्षालयमा सक्रिय रहनुपर्ने बताए।
समाजसेवी मो . कासिमले राम्रो कुरालाई राम्रो र नराम्रो कुरालाई नराम्रो भन्न सक्ने नागरिक उत्पादनमा विद्यालयले सकरात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। विद्यालयमा मात्र सीमित नगराई घरमै पनि विद्यार्थीलाई सही संस्कार दिनसके मात्र अपेक्षा राखेको नतिजा हासिल गर्न सकिने उनको भनाइ थियो।
कञ्चनरुप नगरपालिका वडा नं १२ का वडाध्यक्ष देवी बहादुर खत्रीले शिक्षाको गुणस्तर समाज सुध्रिए मात्र उकासिने भन्दै समुन्नत समाज निर्माण गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
विशिष्ट अतिथिको रुपमा उपस्थित भएकी नगर उप प्रमुख मुनाकुमारी पोखरेलले शिक्षा क्षेत्रमा शिक्षक विद्यार्थी अभिभावक एकजुट भएमात्र संभावनालाई साकार पार्न सकिने बताउँदै शिक्षाबाटै सभ्य समाजको चित्रण हुने बताइन।
प्रमुख अतिथि नगर प्रमुख ललन प्रसाद गुप्ताले अबको समाजमा बहस राजनीतिमा नभई शिक्षा र शिक्षा क्षेत्रबाट उत्पादित जनशक्तिको विश्वव्यापीकरणमा हुनुपर्नेमा जोड दिए । देशको विकास, समाजको परिवर्तन शिक्षाबाट मात्र संभव छ भन्दै उनले अबका विद्यालयमा राष्ट्रियता पढाएर देशलाई माया गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने कुरा व्यक्त गरे।
आज आयोजित वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण समेत गरिएको थियो। उत्कृष्ट नतिजा ल्याउने २०८० सालका एसईई परीक्षामा सहभागी विद्यार्थी सुरज कुमार साह र स्मृति शर्मा, स्व . स्टोफेन स्मृति पुरस्कार जनही नगद ५ हजार ५ र प्रशंसा पत्र प्रदान गरेर पुरस्कृत गरिएको थियो ।
त्यसैगरी कक्षा १२ को बाणिज्य तर्फ उत्कृष्ट अंक ल्याउने निश्चल पौडेल र शिक्षा तर्फ उत्कृष्ट अंक ल्याउने अज्जल चुरौटेलाई स्व . मानबहादुर रत्नमाया स्मृति छात्रवृत्ति प्रदान गरि पुरस्कृत गरिएको थियो ।
कोषका संरक्षक अमर श्रेष्ठ र दुर्गा श्रेष्ठले नगद जनही २ हजार ५ सय ५ र प्रशंसा पत्र प्रदान गरि पुरस्कृत गरेका थिए ।
शिक्षकहरुलाई समेत योगदानको मूल्यांकन गर्दै सम्मानित गरिएको थियो। सम्मानित हुने शिक्षकहरुमा संध्या घिमिरे र गिता समाल लगायत थिए । उनीहरुलाइ प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यसैगरी समाजसेवी , शिक्षाप्रेमी एवं नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य उत्तम आचार्य , पुर्व बिधालय ब्यवस्थापन समितीका अध्यक्षहरु प्रेमप्रसाद रेग्मी , लक्ष्मण यादव , कुदरत अलि , समाजसेवी विशेश्वर प्रसाद यादव र बिधालयका अवकाश प्राप्त कर्मचारी सकलदेव यादवलाई सामाजिक तथा शैक्षिक क्षेत्रको समग्र बिकासका साथै बिधालयको प्रगतिमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
बिधालयमा कक्षा १ देखि कक्षा १० सम्म प्रथम , दोस्रो र तेस्रो हुने विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो ।
दोस्रो स्व . राजु गौतम क्रिकेट प्रतियोगितामा बिधालयको तर्फबाट सहभागी भइ प्रथम पुरस्कार बिजेता बिद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।
बिद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरि दर्शकहरुलाई मनोरञ्जन समेत प्रदान गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक गंगा प्रसाद साहले आर्थिक तथा प्रगति विवरण प्रस्तुत गरेका थिए भने कार्यक्रमको अध्यक्षता समेत प्रधानाध्यापक गंगा प्रसाद साहले गरेका थिए। कार्यक्रम सञ्चालन भने शिक्षक प्रमोद कटुवालले गरेका थिए।