समाचार

जाडो बढेसँगै सप्तरीका ४ पालिकाका विद्यालयमा बिदा

कञ्चनरूप, २५ पुस । मधेशमा शीतलहर र जाडो बढेसँगै सप्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदा दिन थालेका छन् । जिल्लाका ४ वटा स्थानीय तहले अहिलेसम्म बिदा दिइसकेको छ ।
शीतलहर र जाडोका कारण जनजीवन प्रभावित हुन थालेपछि बालबालिकाको स्वास्थ्यको ख्याल गर्दै वर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा दिइएको स्थानीय तहहरूले जनाएका छन् ।
सप्तकोसी नगरपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका ,राजगढ गाउँपालिका र तिरहुत गाउँपालिकाले बिदा दिएको छ । सप्तकोसीले चिसोले बालबालिकाहरुलाई विद्यालय जान कठिन भएको भन्दै नगरपालिका भित्रका विद्यालयहरु दुई दिनका लागि बिदा दिइएको हो ।
बुधबार नगरपालिकामा बसेको नगर भित्रका संस्थागत तथा सामुदायिक विद्यालयहरुको प्रतिनिधिहरुको संयुक्त बैठकले बिहीवार र शुक्रबार नगरपालिका अन्तर्गतका विद्यालयहरुमा विदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरीले जानकारी दिनुभयो ।
विगत केही दिन देखि बढ्दै गएको चिसो तथा शितलहरीका कारण विद्यालयमा पठनपाठन असहज भएको र मौसम प्रतिकूल हुँदै गएकोले नगरका सम्पुर्ण विद्यालयहरुमा मंसिर २५ र २६ गतेका लागि विदा दिएको प्रमुख प्रशासकीय अधिकृत चौधरीले बताउनुभयो ।
यसैगरी जिल्लाकै अग्नीसाइर कृष्णासवरण गाउँपालिकाले समेत चारदिन विद्यालयमा विदा दिइएको छ । गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले बुधबार एक सूचना जारी गर्दै पुस २५- २९ सम्म विदा दिएको जानकारी गराउनु भएको छ ।
त्यस्तै जिल्लाकै राजगढ गाउँपालिकाले समेत पाँच दिन विद्यालयमा बिदा दिएको छ । गाउँपालिका अध्यक्ष ओम प्रकाश गण्डलले एक सूचना जारी गर्दै पुस २४ गतेदेखि माघ १ गते मंगलवारसम्म विद्यालयहरुमा प्रशासनिक कार्य बाहेक नियमित पठन पाठनको कार्य बन्द रहने जानकारी गराउनु भएको छ ।
अत्याधिक रुपमा बढेको चिसो तथा शितलहरको कारणले विद्यालयमा अध्ययनरत वालवालिकाहरुको स्वास्थ अवस्थालाई मध्य नजर गर्दै बिदा दिइएको अध्यक्ष मण्डलले बताउनुभयो ।
यसैगरी तिरहुत गाउँपालिकाले बढदो जाडोको कारणबाट बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्य नजर गर्दै पाँच दिनका लागि विद्यालयहरू बिदा दिएको छ ।
पालिकाले पुस २५ गते देखि २९ गते सोमबारसम्म पालिका अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक/संस्थागत तथा धार्मिक विधालयहरुमा वर्षे विदाबाट कट्टा हुनेगरी ५ (पाँच) दिनका लागि जाडो बिदा दिइएको शिक्षा प्रमुख धनेश्वर यादवले जानकारी दिनुभयो ।
अचानक बढेको चिसो र शीतलहरले जिल्लामा जनजीवन प्रभावित भएको छ । मानिसहरू घरबाट बाहिर निस्कन सकेका छैनन् ।

   

You cannot copy content of this page