कञ्चनरूप, २६ पुस । नेपाल पत्रकार महासंघ सप्तरीले हरेक वर्ष प्रदान गर्दै आएको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार अरुण कुमार यादवले पाएका छन्।
सप्तरीलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका यादवलाई नगद ५ हजार ५ रुपैयाँ सहित यो पुरस्कार प्रदान गरिएको हो।
३१ औं लोकेन्द्र स्मृति दिवसको अवसरमा शुक्रबार कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत राजविराज- जनकपुर इजलासका मुख्य न्यायाधीश बामदेव ज्ञवालीले यादवलाई नगद दोसल्ला र प्रमाणपत्रसहित सम्मान गर्नुभयो । यो पुरस्कार नेपाल पत्रकार महासंघ सप्तरी शाखाको महत्वपूर्ण पुरस्कार हो ।
सप्तरीको हनुमाननगर नगरपालिका वडा नम्बर २ निवासी यादव राष्ट्रिय समाचार समिति (रासस) सप्तरी प्रतिनिधिमा कार्यरत हुनुहुन्छ ।
सल्यान जिल्लाको कोटमौला गाविस घर भई सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका लोकेन्द्र बुढाथोकीको ०५० सालमा हत्या भएपछि उनकै स्मृतीमा २०५१ सालमा यो पुरस्कारको स्थापना गरिएको हो । बुढाथोकी दृष्टि साप्ताहिकका सप्तरी प्रतिनिधि तथा स्थानीय सगरमाथा आवाज सप्ताहिकका सह-सम्पादक थिए ।
राजविराजस्थित समाज कल्याण केन्द्रमा बसी एसएलसीको पढाइ पूरा गरेका बुढाथोकीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा बिएल दोस्रो वर्षमा अध्ययनरत रहेकै अवस्थामा राजविराज ६ स्थित डेरामा रहस्यमय हत्या भएको थियो।
सोही समारोहमा वातावरणीय पत्रकारिता पुरस्कारबाट पत्रकार अर्चना दर्जीलाई प्रदान गरिएको छ । २९ औं उमा सिंह स्मृति दिवसको अवसर पारी दर्जीलाई सो पुरस्कार दिइएको हो ।
सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ४ निवासी दर्जी सप्तरीलाई कार्यक्षेत्र बनाएर हिमालय टायम्समा कार्यरत हुनुहुन्छ ।
प्रत्येक वर्ष सप्तरीका एक जना युवा पत्रकारलाई प्रदान गरिँदै आएको सो पुरस्कार राजविराजबाट प्रकाशित आजको वातावरण दैनिक पत्रिकाका प्रकाशक/सम्पादक तथा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाको अग्रसरतामा दिइँदै आएको छ ।
उक्त पुरस्कार प्रत्येक वर्ष पुस २६ गते उमा सिंह स्मृति दिवसको अवसर पारेर वितरण गरिँदै आएको पुरस्कारका संस्थापक झाले जानकारी दिनुभयो ।