समाचार

गृहमन्त्री लेखीद्वारा गोबरगाढामा हुने तस्करी नियन्त्रणका लागि सुरक्षा निकायलाई निर्देशन

कञ्चनरूप, २९ पुस । मधेश प्रदेश सरकारका दुई मन्त्री सुरक्षा निकायका प्रमुखहरुको टोलीसहित सोमबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ स्थित गोबरगाढाको अवस्था बुझ्न पुग्नु भएको छ ।    
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी, वन तथा पर्यटन मन्त्री सकिल अलिसहितको टोलीले त्यहाँका जनप्रतिनिधि र अगुवाहरुलाई भेटेर आवश्यक जानकारी लिनु भएको थियो  । 
 सो क्रममा गृह, संचार तथा कानुन मन्त्री लेखीले स्थानीयको समस्या समाधान तथा चोरी तस्करी नियन्त्रणका लागि गर्नु पर्ने प्रयास बारे समेत स्थानीयवासी सँग छलफल गर्नुभएको थियो । उहाँले तस्करी नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन गर्न स्थानीय सुरक्षा निकायलाई निर्देशन समेत दिनुभयो  । 
टोलीले उक्त गाउँको अवलोकन गर्दै स्थानीयसँग त्यहाँको अवस्था र उनीहरुको समस्या बारे आवश्यक जानकारी लिएका छन् । सो क्रममा अधिकांश स्थानीयले वर्षायाममा कोशी कटानले भोग्नुपरेको पीडा तथा यहाँबाट हुने चोरी तस्करीको बारेमा टोलीलाई आवश्यक जानकारी गराएका थिए । 
टोलीमा मधेश प्रदेशका नीति आयोगका सदस्य डा. शिला मिश्रा, नेपाल प्रहरीका प्रदेश प्रमुख डिआइजी लालमणि आचार्य, सशस्त्र प्रहरीका डिआइजी कालीदास धौबाजी, राष्ट्रिय अनुसन्धानका निर्देशक माधव तिमिल्सिना, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरिक्षक ज्ञानमणि पौड्याल, हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझीसहितको टोली गोबरगाढा पुगेका हुन् । 
भारतीय सीमासँग जोडिएको उक्त गाउँबाट विशेष गरि मदिरा, गाँजा, स्याउ, लहसुन लगायतका सरसामान भारततर्फ चोरी तस्करी हुने गरेको स्थानीयले टोली समक्ष जानकारी गराएका थिए । 
उक्त गाउँमा एक सय परिवारका करिब तीन सय जनाको बसोवास रहेको छ ।

   

You cannot copy content of this page