राजविराज, ४ माघ । मधेस सरकारले बलिदानी दिवसको अवसर पारेर शहीदहरुको सम्मानमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।
यहीँ माघ ५ गतेका दिन मधेस आन्दोलनको बलिदानी दिवसको अवसर पारेर मधेस सरकारले शहीदहरुको परिवारलाई अभिनन्दनका साथै शहीदहरुको सम्झनामा दीप प्रज्वलन कार्यक्रम गर्न लागेको हो ।
शहीदहरुको बलिदानीकै बलमा नेपाली नागरिकले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पाएको र त्यसको उपभोग गरिरहेकाले शहीदहरुको सम्मानमा शहीद परिवारलाई अभिनन्दन गर्ने कार्यक्रम मधेस सरकारले तय गरेको गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीले जानकारी दिनुभयो ।
उहाँले जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा शहीदहरुको सम्मानमा दीप प्रज्वलन समेत गरिने बताउनुभयो । मन्त्री लेखीले शहीदहरुको सम्मानमा १ लाख बढी दीप बाल्ने कार्यक्रम रहेको बताउनुभयो ।
मन्त्री लेखीले शहीद परिवारका बालबालिकाको पढाई लिखाई, रोजगारीको बाटो सिर्जनाका लागि सीपमूलक कार्यक्रम समेत ल्याउने योजना रहेको बताउनुभयो ।
उहाँले यसका लागि बृहत छलफलका साथै विभिन्न ऐन कानूनको आवश्यक्ता रहेकाले अन्तरकृया तथा छलफल समेत अगाडी बढाइएको जानकारी दिनुभयो ।