कञ्चनरूप, २ फागुन । सप्तरी प्रहरीले आफ्नै पत्नीको हत्या गरेको आरोपमा एक जनालाई ५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका २ बस्ने सन्तोष साह रहेको सप्तरी प्रहरीले जनाएको छ ।
पत्नी गायत्री कुमारी साहलाई हत्या गरेको आरोप लागि फरार रहेका साहलाई ५ वर्षपछि प्रहरीले बिहीबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साहले श्रीमती गायत्रीकुमारीलाई २०७६ साल चैत ६ गते राति कुटपिट गरी शम्भुनाथ नगरपालिका-२ ट्राफिक चोकदेखि चार सय मिटर पूर्वमा फालेका थिए । भोलिपल्ट स्थानीयले फेला पारेर गायत्रीलाई युनिक अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।
साहसंग गायत्रीको २०७६ जेठ २६ गते विवाह भएको थियो । बिहेपछि दुबै जनाबीच पटक-पटक विवाद हुँदै आएको थियो।
जिल्ला अदालत राजविराजबाट सन्तोषलाई कर्तव्य ज्यानमुद्दामा ३ दिन म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



