कञ्चनरूप, ७ फागुन । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर-१२ स्थित रुपनगरमा बुधबारबाट प्रथम नन्दराज कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
रूपनगर नन्दराज संग्रौला क्याम्पसको
आयोजना तथा जवाफ एडुकेसन्स’ शगुन संग्रौलाको मुख्य प्रायोजक र ‘एक्मी इञ्जिनियरिङ कलेजको सहप्रायोजनमा प्रतियोगिता सुरु भएको हो ।
सुन्दरी खेल मैदानमा ११ दिनसम्म जारी प्रतियोगितामा १६ वटा टिम सहभागी रहेका छन् । प्रतियोगितामा पहिलो हुने टोलीले नगद २५ हजार रुपैयाँ , शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने तथा दोश्रो हुने टोलीले नगद ११ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्लेयर अफ द टुर्नामेण्ट, म्यान अफ द म्याच लगायत अन्य पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि कञ्चनरूप नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेलले बललाई खुट्टाले हानेर गर्नुभएको थियो ।
खेलको उद्घाटन गर्दै उपप्रमुख पोखरेलले खेलाडीहरु देशको कर्णधार भएकोले खेलाडीहरुलाई प्रोत्साहन गरि क्याम्पसले फुटबल प्रतियोगिता गरेर खेलाडीहरुको मनोबल बढाउने काम गरेकोमा प्रशंसा गर्नुभयो ।
कञ्चनरूप नगरपालिकाका पूर्व नगर प्रमुख बसन्त कुमार मिश्रले खेलाडीहरुलाई मर्यादित र अनुशासित भएर खेल्न आग्रह गर्नुभयो ।
त्यसै गरी, खेलप्रेमी व्यक्तित्वहरूबाट समेत प्रतियोगिता आयोजनमा आर्थिक तथा अन्य सहयोग प्राप्त भएको जानकारी क्याम्पसले दिएको छ । हेम प्रसाद अधिकारी, पुनम गजुरेल, डेफोडिल इङ्लिश स्कूल, श्रवण कुमार चौधरी, शुभदिन दूध सङ्कलन केन्द्र लगायत व्यक्ति तथा संस्थाले आर्थिक सहयोग गर्नु भएको जानकारी प्रतियोगिता आयोजन समितिले दिएको छ । त्यसै गरी जिल्ला खेलकूद विकास समिति, सप्तरीका प्रमुख दिनेश भुजेलका तर्फबाट खेलाडीहरूलाई जर्सी लगायत अन्य उपकरण सहयोग प्राप्त भएको आयोजक रुपनगर नन्दराज संग्रौला क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक दिपक कुमार गजुरेलले जानकारी दिनुभयो ।
उद्घाटन खेलमा जगतपुर विजयी :
बुधबार सम्पन्न उद्घाटन खेलमा जगतपुर फूटबल क्लबले बाबा बजरङवली युवा क्लबलाई १-० ले हराएर क्यार्टर फाइनलमा प्रवेश गरेको छ ।
निर्धारित ७० मिनेटको खेलमा जगतपुर फुटबल क्लब र बाबा बजरंगवलि युवा क्लब बिच भएको पहिलो हाफको खेलमा दुवै टिमले गोल गर्न नसकेपछि खेल बराबरी भएको थियो ।
दोस्रो हाफको ५ मिनेटमा जगतपुर फुटबल क्लबका जर्सि नम्बर ३५ का कौशल खंले १ गोल गरि टिमलाई अग्रता दिलाए सोहि गोलले गर्दा जगतपुर १ / ० गोलले विजयी भयो ।
राष्ट्रिय स्तरको लाइसेन्स प्राप्त रेफ्री ध्रुव चौधरीले खेलाउनु भएको बुधबारको खेलमा जगतपुर क्लबका खेलाडी कौशल खङ्ग ‘म्यान अफ द म्याच’ घोषित भए । जिल्ला खेलकूद विकास समिति, सप्तरीका प्रमुख दिनेश भुजेलले म्यान अफ द म्याचको प्रमाणपत्रद्वारा खेलाडी खङ्गलाई सम्मान गर्नुभयो।
खेलमा बाबा बजरंगवलि युवा क्ल्ब , जगतपुर फुटबल क्लब ,धर्मेश्वर युवा क्लब ,श्री नव युवा क्लब ,वलुवा फुटबल क्लब , भवनपट्टि फुटबल क्लब , डिआर युके एस फुटबल क्लब , रुपनगर क्याम्पस , महुली फुटबल क्लब , जगमोहन फुटबल क्लब , सृजना फुटबल क्लब , मगर टोल फुटबल क्लब , एफ सि रिभर साइड ,प्रोग्रेसिभ फुटबल क्लब ,श्री मा दुर्गा फुटबल क्लब बसन्तपुर फुटबल क्लब गरि १६ वटा टिमले भाग लिएका छन ।
प्रतियोगिताको फाइनल खेल फागुन १७ गते हुने क्याम्पसका खेलकूद संयोजक रूपेश चौधरीले जानकारी दिनुभयो। बिहीबार दुई वटा खेलहरु हुने जनाइएको छ ।













