कञ्चनरूप, १० फागुन । भारतको युपि राज्य अन्तर्गत प्रयागराज (कुम्भ) स्नान गरेर फर्किदै गर्दा स्कारपियो गाडी दुर्घटना हुँदा सप्तरीको तीन सहित चार जनाको घटना स्थलमै मृत्यु भएको छ ।
शुक्रवार राति युपिको गोरखपुरमा विपरीत दिशाबाट गइरहेको ट्याक्टर र नेपाली भक्तजन सवार स्कारपियो एक आपसमा ठोकिदा घटना स्थलमा ४ जनाको मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ ।
मृत्यु हुनेमा सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ७ का अन्दाजी ६३ वर्षीय पर्शुराम चौधरी, उपेन्द्रनारायण चौधरीकी अन्दाजी ६२ वर्षीया पत्नी लिलावती देवी र कञ्चनरुप वडा नम्बर ५ की ५५ वर्षीया हरिहरदेवी यादव तथा सुनसरीको कुशाहा गाउँपालिका–१ की समतोलिया देवी यादव रहेकी छिन् ।
दुर्घटनामा कञ्चनरुप ७ का शिक्षक उपेन्द्रनारायण चौधरी, जितु यादव लगायत छ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई गोरखपुरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
कञ्चनरूप नगरपालिका वडा नम्बर ७ का अध्यक्ष श्यामानन्द चौधरीले शव ल्याउन दुई वटा एम्बुलेन्स घट्नास्थलतर्फ गइसकेको जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी महेन्द्र नेपालले घटनाबारे औपचारिक जानकारी आउन बाँकी रहेको र थप विवरण संकलन भइरहेको जानकारी दिनुभयो ।



