सिरहा । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेला गएकी सिरहाकी दुई वृद्धा सम्पर्कविहीन बनेकी छिन् ।
सुखीपुर नगरपालिका ५ की ७५ वर्षीया पलास यादव र औरही गाउँपालिका ३ की ५५ वर्षीया सुलेना यादव सम्पर्कविहीन बनेकी हुन् ।
पलास मेला भरेर आफन्तसँग घर फर्किने क्रममा गत बिहीबार राति उत्तर प्रदेशको फेफना रेल्वे स्टेसनदेखि बलिया रेल्वे स्टेसनको बीचमा सम्पर्कविहीन बनेको परिवारले जनाएको छ । परिवारले निरन्तर खोजी गरे पनि उनी भेटिएकी छैनन् ।
त्यस्तै सुलेना महाकुम्भ मेलाबाटै सम्पर्कविहीन छिन् । उनी पनि बिहीबार नै भीडमा हराएको उनको परिवारले जनाएको छ । आफन्तले मेलामा खोजबिन गरिरहे पनि उनलाई फेला पार्न सकेका छैनन् ।



