रवि शर्मा
भारदह, १४ फागुन । सप्तरी जिल्लाभरका विभिन्न शिव मन्दिरहरूमा महाशिवरात्रि पर्व श्रद्धा, भक्ति र हर्षोल्लासका साथ मनाइँदै छ। बिहानैदेखि भक्तजनहरू पूजाआजा, भजनकीर्तन तथा विशेष अनुष्ठानमा संलग्न भएका छन्।
शिवरात्रिका अवसरमा सप्तकोशी नगरपालिका फत्तेपुरस्थित शिवालय, कञ्चनरुप –६ बलुवाको भजनेश्वर महादेव मन्दिर, कञ्चनरुप –८ स्थित शिवालय मन्दिर, कञ्चनरुप –१२ रुपनगरको त्रिमार्ग शिवालय मन्दिर, राजविराज–१ को शिवालय मन्दिर, महादेवा गाउँपालिकास्थित शिवालय मन्दिर, हनुमाननगर कंकालिनी–२ को महादेव मन्दिर, पातोको डाकनेश्वरी मन्दिर, वभनगामाकट्टिको महादेव मन्दिरमा हजारौँ भक्तजनको घुँइचो लागेको छ।
शिवरात्रि हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्वमध्ये एक हो, जसलाई भगवान् शिवको उत्पत्तिसँग जोडिएको धार्मिक मान्यता रहेको छ। भक्तजनहरूले शिवलिंगमा जल, बेलपत्र, दूध, धतुरो, भाङ आदि अर्पण गर्दै विशेष पूजा गरेका छन्। उपवास बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ, जसका कारण धेरै भक्तजन दिनभर निराहार व्रत बस्ने गर्छन्।
मन्दिर परिसर भजनकीर्तन र शिव महिमा गाउने भक्तजनहरूले गुञ्जायमान बनेका छन्। विभिन्न ठाउँबाट आएका साधु–सन्तहरूको विशेष जमघट पनि मन्दिरहरूमा देख्न सकिन्छ। सुरक्षाका लागि स्थानीय प्रशासन र प्रहरी टोली सक्रिय रहेका छन्।
शिवरात्रिको उल्लासले सप्तरीका शिवालयहरू भक्तिमय बनेका छन् भने धार्मिक आस्थाले जनजीवनलाई थप ऊर्जा प्रदान गरेको छ।



