कञ्चनरूप । जातीय विविधताको प्रदर्शन गर्दै सप्तरीमा ४३औं राष्ट्रिय मगर एकता दिवस मनाइएको छ ।
मगर जातिको अधिकारमुखी साझा संस्था नेपाल मगर सङ्घको स्थापना दिवसको अवसरमा बिहीबार ४३ औँ राष्ट्रिय मगर एकता दिवस मनाइएको हो ।
सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित रुपनगरमा बिहीवार नेपाल मगर संघ सप्तरीको दशौ अधिबेशन तथा ४३ औं राष्ट्रिय मगर एकता दिवसभव्य रुपमा मनाएको छ ।
नेपाल मगर संघ सप्तरीकी अध्यक्ष साधाना रानाको अध्यक्षता तथा नेपाल मगर संघका केन्द्रीय कार्यबाहक अध्यक्ष गंगा थापा मगरको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो ।
कार्यक्रममा वक्ताहरुले कुनै पनि समुदायको कला, संस्कृति, भाषा र भेषभुषाको संरक्षण गर्न नसके समाज परिवर्तन हुन नसक्ने बताउँदै पछिल्लो समय मगर समुदायबाट मगर भाषा पुस्तान्तरण हुन नसकेको बताए । उनीहरूले भने, ‘समाज परिवर्तनका लागि कला, संस्कृति, भाषा र भेषभुषाको संरक्षण आवश्यक छ ।’
मगरहरूको इतिहास, चाल चलन, भेषभुषा, कला संस्कृती रहन सहन, झाकीसहित विभिन्न गतिविधिहरूसहित राष्ट्रिय दिवस मनाएका हुन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका सदस्य सरोज राना मगरद्वारा संचालित कार्यक्रममा स्वागत नेपाल मगर संघकी पूर्व जिल्ला सहसचिव लिला थापा मगरले गरिन ।
उक्त अवसरमा ३ जना ज्येष्ठ नागरिकसहित मगर समुदायका लागि विभिन्न क्षेत्रबाट योगदान गरेका आधादर्जन व्यक्तित्वलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।









