समाचार

फत्तेपुरको बस्तीमा छिरेको बाघ नियन्त्रणमा लिइयो, घाइतेको संख्या ५ पुग्यो

कञ्चनरूप । सप्तरीको फत्तेपुरमा बस्ती पसेर मानिसलाई आक्रमण गर्ने बाघलाई १० घण्टापछि नियन्त्रणमा लिइएको छ ।
बस्ती पसेको बाघले सोमबार बिहान पाँच जनालाई आक्रमण गरी घाइते बनाएको थियो ।
सप्तकोशी नगरपालिका–१ खोरिया टोलस्थित सहिद रंगशाला नजिक जंगली बाघले आक्रमण गर्दा स्थानीय ४३ वर्षीय कृष्ण विष्ट, ५५ वर्षीय गणेश खत्री, ६५ वर्षीय रिजन गोसाई, वडा नम्बर –१ फत्तेपुरका ६० वर्षीय गोपाल बिक र ५० वर्षीय मिनबहादुर राई घाइते भएका छन् ।
कोशी टप्पु वन्यजन्तु आरक्षणबाट खटिएको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा पठाइएको राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख बिरेन्द्र गौतमले जानकारी दिनुभयो ।
घाइतेहरूको उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

   

You cannot copy content of this page