कञ्चनरूप, २८ फागुन । मधेश प्रदेशका गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सशस्त्र प्रहरी बल,दन्तकाली विशेष कार्य तालिम शिक्षालय सिनियर अधिकृत ब्यारेक भवनको शिलान्यास गर्नुभएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका स्थित बरमझियामा रहेको तालिम केन्द्रमा ५० लाखको लागतमा निर्माण हुने भवनको बुधबार आयोजित एक समारोहका वीच मन्त्री लेखीले शिलान्यास गर्नुभएको हो ।
शिलान्यास कार्यक्रममा गृह मन्त्री लेखीले सुरक्षा निकायका भौतिक संरचनाको विकासमा सरकारले निरन्तर ध्यान दिने बताउनुभयो । उहाँले आगामी वर्षहरूमा सुरक्षा प्रविधिसँग मेल खाने नवीनतम परियोजनाहरू ल्याइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
मन्त्री लेखीले समाजमा हुने जुनसुकै किसिमको अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन समेत दिनुभयो । सरकारले सुरक्षा निकायलाई सशक्त बनाउन पूर्वाधार विकासलाई प्राथमिकता दिएको मन्त्री लेखीले बताउनुभयो ।
मधेश प्रदेश सरकार गृह,सञ्चार तथा कानुन मन्त्रालयको चालू आ.व.२०८१/०८२ को स्वीकृत बार्षिक बजेट अन्तर्गतको सिनियर अधिकृत ब्यारेक तथा मेष भवन निर्माण कार्य ५० लाखको लागतमा हुने सशस्त्र प्रहरी बल,दन्तकाली गण बरमझियाले जनाएको छ ।
भवन शिलान्यास समारोहमा स्थानीय जनप्रतिनिधि, जिल्लाका सुरक्षा निकायका प्रमुख लगायतका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।





