समाचार

होली सभ्य, शान्तिपूर्ण र अनुशासित भएर मनाउन सप्तरी प्रशासनको अनुरोध (सूचनासहित)

कञ्चनरूप, २८ फागुन । जिल्ला प्रशासन कार्यालय सप्तरीले सभ्य र शान्तिपूर्ण ढंगले होली पर्व मनाउन सम्पूर्ण जिल्लाबासीलाई आग्रह गरेको छ । 

बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरीले एक सूचना जारी गर्दै होहल्ला तथा अवाञ्छित क्रियाकलाप नगरी होली पर्व मनाउन आग्रह गरेको हो । 

प्रशासकीय अधिकृत जितेन्द्र कुमार पासवानद्वारा जारी सूचनामा चाडपर्वको नाममा अवाञ्छित एवम् कानून विपरीत कार्य गरे-गराइएको पाइएमा कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।  यदि कसैले उच्छृङ्खल गतिविधि गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने स्पष्ट गरिएको छ । 

‘चाडपर्व मनाउने नाममा कसैको ईच्छा विपरीत रंग लगाउने,लोला हान्ने फोहर पानी तथा हिलो छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलाप नगरी सभ्य र शान्तिपूर्ण ढंगले चाडपर्व मनाउन कार्यालय सम्पुर्ण जिल्लाबासीलाई हार्दिक अपिल गर्दछ’ जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रशासनले चैत १ गते परेको रंगको पर्व होलीको उपलक्ष्यमा सम्पूर्ण जिल्लाबासीलाई शुभकामना समेत व्यक्त गरेको छ ।

   

You cannot copy content of this page