इटहरी । सुनसरीको धरानबाट आउँदै गरेको कार इटहरीको पानीपियामा शनिवार राति दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा कार चालकसहित ३ जना घाइते भएका छन् ।
इटहरी उपमहानगरपालिका–२० पानीपिया जङ्गलमा प्र–०१–०३० च ४६१८ नम्बरको कार आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको सुनसरी प्रहरीले जनाएको छ ।
४ जना सवार रहेको कार दुर्घटनामा परेर कारमा सवार उदयपुर चौदन्डिगढी नगरपालिका ९ ज्यामिरेका २८ वर्षीय विष्णु राउतको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका राउतलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । उपचारकै क्रममा करिब डेढ घण्टापछि राउतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा कार चालक सुनसरीको रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, इटहरी–४ का ४३ वर्षीय गङ्गा बस्नेत र इटहरी–१ का ३१ वर्षीय कल्याण कटुवाल घाइते भएका छन् । सामान्य अवस्थाका घाइतेहरूको बिपीमै उपचार भइरहेको छ ।
सामान्य उपचारपछि कार चालक लामालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
धरानबाट इटहरीतर्फ आउँदै गरेको कार अनियन्त्रित भएर राति ११ बजेतिर सडकबाट पूर्वतर्फ रहेको जामुनको रूखमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।



