राजविराज, ७ जेठ । मधेश प्रदेश सरकारका प्रवक्ता एवं गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले मधेश प्रदेश सरकारले जेठ १५ लगतै प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने बताउनु भएको छ ।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लेखीले नीति तथा कार्यक्रमको तयारी तीव्र रुपमा भइरहेको जानकारी दिनुभएको हो । उहाँले यस पटकको बजेट सञ्चारमैत्री हुने गरी मन्त्रिपरिषद्ले तयारी गरिरहेको समेत बताउनुभयो ।
मन्त्री लेखीले मधेश प्रदेश सरकारले यस पटकको बजेट तथा कार्यक्रम असार १ गते अघि नै ल्याउने बताउनुभयो । चालु आर्थिक वर्षमा मधेश सरकारले सञ्चार मन्त्रालयलाई न्यून बजेट विनियोजन गरेका कारणले पत्रकारिता क्षेत्रका लागि गर्नुपर्ने काम गर्न नसकेको उहाँले बताउनुभयो ।
मन्त्री लेखीले मधेश प्रदेशमा शान्ति सुरक्षासहितको विभिन्न काममा सक्रिय नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संरचनाहरू निक्कै कमजोर रहेकाले ती संरचनाहरूको प्रबलीकरण तथा नयाँ संरचनाको निर्माणमा बजेट व्यवस्थापन हुने समेत जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा शहिदका छोरोछाेरीलाई छात्रवृत्ति प्रदान गर्नका लागि ५० लाख रकम विनियोजन गरेको बताउँदै मन्त्री लेखीले शहिद परिवारलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमसहित रोजगारका लागि आवश्यक उपकरण प्रदान गरिने तयारीमा रहेको बताउनु भयो ।
पत्रकारहरूको दुर्घटना बीमालाई जीवन बीमामा रुपान्तरणका लागि अगामी आर्थिक वर्षमा बजेट व्यवस्थापनको प्रयास गर्ने बताउँदै मधेश प्रदेशका ज्येष्ठ पत्रकारहरूको सम्मानका कार्यक्रम चाडै आयोजना गरिने समेत जानकारी दिनुभयो ।

