राजविराज, १० जेठ । सप्तरीको राजगढ गाउँपालिका–५ स्थित मलेकपुरमा शनिबार दिउँसो मोटरसाइकल ट्याक्टरको पछाडिको भागमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
सप्तरी प्रहरीका अनुसार विष्णुपुर गाउँपालिका –१ जमुनी मधेपुराका १९ वर्षीय सन्तोष यादव र २२ वर्षीय सागर मण्डलको मृत्यु भएको हो। जमुनी मधेपुरा १८ वर्षीय धनञ्जय यादवको अवस्था गम्भिर छ।
इँटा लोड भएको स१ त ५४४२ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट जाँदै गरेको म प्र०२–०१९ प ९६२६ नम्बरको मोटरसाइकल ट्याक्टरको पछाडिको भागमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मोटरसाइकलमा सवार तीन जना रहेको र तीन जना घाइते भएकामा गम्भीर अवस्थामा उपचारका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएको थियो । घाइतेमध्ये २७ वर्षीय एक जनाको अस्पताल ल्याउँदै गर्दा र अर्का २३ वर्षीय युवकको अस्पताल ल्याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयाे ।
अर्का गम्भीर घाइते एक युवकको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृतक दुबै जनाको शव परीक्षणका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको छ भने ट्याकटर र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।

