काठमाडौं । करण केसीको उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डलाई १ विकेटले पराजित गरेको छ ।
स्कटल्यान्डले दिएको २९७ रनको बलियो विजयी लक्ष्य पछ्याएको नेपालले ४९.५ ओभरमा १९७ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।
करण केसीले ४१ बलमा अविजित ६५ रन बनाए ।
स्कटल्यान्डको डुन्डीमा सम्पन्न खेलमा करणले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टिमले प्रस्तुत गरेको २९७ रनको लक्ष्य नेपालले ४९.५ ओभरमा नौ विकेट गुमाएर पूरा गर्यो ।
करणबाहेक, नेपालका ओपनर कुशल भुर्तेलले ५३ रनको अर्धशतकीय इनिङ खेले । गुल्सन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहितकुमार पौडेलले ३७ र आसिफ सेखले २० रन थपे ।
स्कटल्यान्डका ब्रान्डन म्याकमुलमले तीन विकेट लिए । ज्याक जार्भिस र माइकल लियस्कले समान दुई विकेट लिँदा मार्क वाट र जस्पेर डविडसनले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको घरेलु टिमले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २९६ रनको योगफल खडा गरेको थियो ।
स्कटल्यान्डका ओपनर चार्ली टिएरले सर्वाधिक ८० रन बनाए । उनले ७२ बलमा १२ चौका र एक छक्का प्रहार गरे । चार्लीले ७७–२ को स्थितिबाट तेस्रो विकेटका निम्ति कप्तान रिची बेरिङ्टनसँग ७९ रनको साझेदारी गरेका थिए ।
कप्तान बेरिङ्टनले ४० रन थपे । यस्तै, फिनली म्याकार्थीले ६७ बलमा तीन चौका र एक छक्कासहित ५५ रन बनाए ।
म्याथ्यु क्रसले ३९ र ब्रान्डन म्याकमुलमले १९ रन जोडे । माइकल लियस्क र जर्ज मुन्सीको नाममा क्रमशः १८ र १२ रन रह्यो । वार्क वाटले १० रन थपे ।
नेपालका करण केसी, रिजन ढकाल र सोमपाल कामीले दुई–दुई विकेट लिए । १० ओभर बलिङ गर्दा करणले एक मेडनसहित ४३ रन खर्चिए । यस्तै, सन्दीप लामिछानेले एक विकेट लिए ।
यो जितसँगै नेपाल तालिकाको सातौँ स्थानमा उक्लिएको छ । नेपालले प्रतियोगिताको १३ खेलबाट आठ अंक जोडेको छ ।

