समाचार

सप्तकोशी नदीमा अभ्यासकाे क्रममा डुबेर दुई सशस्त्र प्रहरी जवान बेपत्ता

कञ्चनरूप, २२ जेठ ।  सप्तकोशी नदीमा अभ्यासकाे क्रममा डुबेर दुई सशस्त्र प्रहरी जवान बिहीबार दिउँसो बेपत्ता भएका छन् । 

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोशी व्यारेजमा बिहीबार मधेश प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट खटिएको गोताखोर उद्धार टोलीले बाढीपहिरोको समयलाई मध्यनजर गर्दै अभ्यास गरिरहेको बेला सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी नदीमा बेपत्ता भएका हुन् । 

बेपत्ता जवानहरूको खोजीका लागि सप्तरी र सुनसरी जिल्लाबाट थप प्रहरी जनशक्ति परिचालन गरिएको छ । खोजी कार्य तीव्र गतिमा जारी रहेको र गोताखोर टोलीलाई थप सहयोग पुर्‍याउन स्थानीय प्रशासन पनि सक्रिय रहेको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।

सप्तकोशी नदीमा बढ्दो पानीको सतह र तीव्र बहावका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको भए पनि सुरक्षाकर्मीहरू दिनरात नभनी परिचालित छन् । उक्त घटनाले सुरक्षाकर्मीहरूको तालिम अभ्यास पनि उच्च जोखिममा हुने संकेत दिएको छ । 

यसैगरी माछा मार्ने क्रममा एक महिला सप्तकोसी नदिमा डुबेर अचेत भएकी छिन् । उनलाई स्थानीबासीले उद्वार गरि उपचारका लागि अस्पताल पठाएको स्थानीयले बताएका छन् । 

उनको विराटनगर स्थित एक अस्पतालमा उपचार भइरहेको तथा स्वास्थ्य अबस्था गम्भीर रहेको परिवार श्रोतले जनाएको छ ।

   

You cannot copy content of this page