शिक्षा समाचार

गर्मी बढेपछि कञ्चनरूप नगरपालिकाले दियो तीन दिन विद्यालय बिदा

कञ्चनरूप, २८ जेठ । सप्तरीको कञ्चनरूप नगरपालिकाले अत्यधिक गर्मी बढेपछि तीन दिन सम्पूर्ण सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिने निर्णय गरेको छ ।  

कञ्चनरूप नगरपालिकाले आज एक सूचना जारी गर्दै नगर क्षेत्रभित्रका सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा जेठ २८ गते बुधबारदेखि जेठ ३० गते शुक्रबारसम्म ‘गर्मी विदा’ दिइएको कञ्चनरूप नगरपालिकाका शिक्षा शाखाका प्रमोद कटुवालले जानकारी दिनुभयो । 

हालको तापक्रम अत्यधिक बढ्दै गएपछि विद्यालय सञ्चालनमा कठिनाइ भएको र विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न थाले पछि बिदा दिईएको शिक्षा शाखा सदस्य कटुवालले बताउनुभयो । 

कटुवालका अनुसार वर्षे विदाबाट कट्टा हुनेगरी विद्यालयको अति आवश्यक प्रशासनिक काम बाहेक पठनपाठनका क्रियाकलापहरु बन्द रहने छ । 

पछिल्लो समय बढेको गर्मीमा कक्षा कोठामा पङ्खा भएपनि तातो हावा आउने हुँदा विद्यार्थीहरूलाई असहज हुन थालेको छ । विशेष गरी स–साना बालबालिकाहरू गर्मीको कारण प्रभावित हुने गरेका छन् । 

विगत केही दिन देखि यता बढेको अत्यधिक गर्मीको कारण सप्तरीको जनजीवन प्रभावित भएको छ ।

   

You cannot copy content of this page