समाचार

सप्तरीमा अत्याधिक गर्मीसँगै जनजीवन प्रभावित

कञ्चनरूप, २८ जेठ । विगत केही दिन देखि यता बढेको अत्यधिक गर्मीको कारण सप्तरीको जनजीवन प्रभावित भएको छ । 

सूर्योदय भएसँगै साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो । सप्तरीमा अहिले दैनिक तापक्रम ३७ देखि ४१ डिग्री सेल्सियससम्म रहेको छ । 

केही समय यता वर्षा नभएपछि यस क्षेत्रमा गर्मी घट्न सकेको छैन । चर्को घामका कारण मध्याह्नमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयहरू बताउनुहुन्छ । 

गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ । गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् ।

अत्यधिक गर्मीको कारण सप्तरीका ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा पङ्खाको सुविधा समेत नहुँदा विद्यार्थीको स्वास्थ्यमा असर पर्न थालेको छ । 

पछिल्लो समय बढेको गर्मीमा कक्षा कोठामा पङ्खा भएपनि तातो हावा आउने हुँदा विद्यार्थीहरूलाई असहज हुन थालेको छ । विशेष गरी स–साना बालबालिकाहरू गर्मीको कारण प्रभावित हुने गरेका छन् । गर्मी बढ्दै गएपछि दिउँसो हिड्डुल गर्ने सर्वसाधारण , काम गर्ने मजदुर तथा कृषि गर्ने किसानहरू बढी प्रभावित भएका छन् ।  

गर्मी बढेसँगै सर्वसाधारणलाई बाहिर हिँडडुल गर्न समस्या हुने गरेको छ । गर्मीले रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या लिएर अधिकांश बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका छन् ।

घरबाट ननिस्कन र निस्कीनु परेमा अनिवार्य रुपमा शरिर छोप्ने लुगा लगाउन र छाता लिएर जान चिकित्सकहरुको सुझाब छ । ताजा र सफा खाना मात्र खान र अत्याधिक पानी पिउन समेत चिकित्सकहरुको सुझाव दिएका छन् ।

   

You cannot copy content of this page