कोशी प्रदेश समाचार

एक विद्यार्थी एक बृक्षारोपण कार्यक्रम

राजविराज, असार ३ गते । इन्सेक कोशी प्रदेश कार्यालय र इन्सेकद्वारा गठित गाउँपालिका स्तरीय मानव अधिकार समूह बर्जुले मंगलबार बर्जु गाउँपालिका ५ स्थित नेपाल राष्टिय माध्यमिक विद्यालयमा बृक्षारोपण कार्यक्रम गरेको छ । 

मानव अधिकार समूहका अध्यक्ष जितनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा टिक, मसला, अम्बा, अमला, सिसौ जातका २ सय ५० थान विरुवा बालबालिकाहरुले घरघरमा रोपेका छन् ।

बृक्षारोपणको उद्देश्य र वातावरणीय जिम्मेवारीको बारेमा जानकारी दिनुहुँदै इन्सेक सहजकर्ता दीपेन्द्रकुमार झाले जागरूकता जगाउनका साथै राज्यका निकायहरु र नीति निर्माताहरूलाई दिगो वृक्षारोपणको रणनीतिहरू अपनाउन यस्ता कार्यले प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा बाल क्लब संरक्षक शिक्षक दीपक चौधरी, विद्यालय व्यवस्थापन समिति सदस्य राजकपुर चौधरी, शिक्षकहरु बैशनाथ चौधरी, रंगराज काफ्ले, गणेश यादव, पूर्णिमा चौधरी, गुलजरीया यादवले जलवायु परिवर्तनको असर न्यून गर्न बृक्षारोपणले मद्धत गर्ने बताउनु भयो । 

प्रत्येक विद्यार्थीलाई रूख रोप्न प्रोत्साहित गरेर वातावरण संरक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले एक विद्यार्थी एक वृक्षारोपण अभियान सुरु गरिएको इन्सेक कोशी प्रदेश कार्यालयले जनाएको छ । मानवकै गतिविधिले हरितगृह ग्याँस उत्सर्जन र जलवायु परिवर्तन भएर वातावरणले कष्ट भोग्नुपरेको र जलवायुका जोखिमहरू भोग्नु परिरहेको छ । कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले भन्नुभयो मानवद्वारा भइरहेको पृथ्वीको विनाशबाट बचाउने उत्तरदायित्व मानवकै हो भनेर कार्यक्रममार्फत जलवायु कार्यमा व्यक्तिगत र सामुदायिक सहभागितालाई सुदृढ पार्न खोजिएको हो । 

यो अभियान विश्व वातावरण दिवस ५ जुन २०२५ देखि अन्तर्राष्ट्रिय जलवायु कार्य दिवस २३ अक्टोबर २०२५ सम्म चल्नेछ ।

   

You cannot copy content of this page