कोशी प्रदेश समाचार

मानव अधिकारका सवालमा पत्रकार र अधिकारकर्मीबीच छलफल

इटहरी, असार ४ गते । मानव अधिकारका सवालमा पत्रकार र अधिकारकर्मीबिच सुनसरीको इटहरीमा बुधबर छलफल कार्यक्रम सम्पन्न भएको छ ।
मानव अधिकार र सामाजिक न्यायसम्बन्धी सवालमा सञ्चार माध्यमको भूमिकाका विषयमा पत्रकार र अधिकारकर्मीले हातेमालो गर्न आवश्यक रहेकोमा सन्दर्भमा पत्रकार र अधिकारकर्मीबिच छलफल कार्यक्रम भएको हो ।
इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले सञ्चार माध्यममा मानव अधिकारका सवालमा गरेको छलफल कार्यक्रममा पत्रकार र मानव अधिकारकर्मीले पीडितको न्याय प्राप्तिका विषयमा घनिभूत छलफल गरेका छन् । सञ्चार माध्यमले मानव अधिकार प्रवर्द्धनमा खेलेको भूमिका र त्यसका चुनौतीका बारेका छलफल भएको हो ।
कार्यक्रममा वक्ताहरूले सञ्चार माध्यममार्फत समाजमा उत्पन्न हुने प्रभाव, मानव अधिकार उल्लङ्घनका घटना उजागर गर्न पत्रकारको भूमिका र प्रेस स्वतन्त्रता सम्बन्धी विषयमा धारणा राखेका छन् । मानव अधिकार सम्बन्धी विषयलाई सन्तुलित, तथ्यमा आधारित र नैतिक पत्रकारिताको ढाँचामा प्रस्तुत गर्नुपर्नेमा पत्रकारले जोड दिएका छन् ।
छलफलमा सहभागी पत्रकारहरुले सञ्चार माध्यममा मानव अधिकारका सवाल अझ बढी गहिराइमा उठान गर्नका लागि अधिकारकर्मी र पत्रकारबिच समन्वयात्मक भूमिका निर्माणको आवश्यकता भएको बताएका छन् ।
इन्सेक कोशी प्रदेश कार्यालयका संयोजक मनोहरकुमार पोखरेलले पत्रकार र अधिकारकर्मीको भौतिक सुरक्षा र पेशागत सुरक्षा भए मात्र लोकतन्त्र सुदृढ हुने भएकोले त्यसको रक्षाका लागि सबै गम्भीर हुनुपर्ने बताउनु भयो । मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाले सामाजिक सुरक्षा, न्याय, मानव अधिकार शिक्षा र संस्थागत सुदृढिकरणलगायत १७ ओटा विषयक्षेत्रलाई समेटे पनि कोशी प्रदेशमा पाँचौ राष्ट्रिय कार्यायोजना कार्यान्वयनका लागि गठन गरिने समितिहरू नै नभएका कारण सरकारको योजना नै प्रभावहीन भएको बताउनु भयो । उहाँले हिंसाका कुनैपनि घटना मान्य नहुने भएकाले दोषीलाई कारबाहीको दायरामा ल्याउन अधिकारकर्मी र पत्रकारले संयुक्त रूपमा भूमिका खेल्न आवश्यक रहेको बताउनु भयो ।
नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष अर्जुन सुवेदीले मानव अधिकार सबै मौलिक हकका सवाल भएकोले अधिकारकर्मी तथा सञ्चारकर्मीहरु मिलेर अगाडि बढ्नु पर्ने बताउनु भयो ।
ओरेक प्रदेश संयोजक शोभा बजगाईले पीडितमैत्री तथा मानव अधिकारमैत्री सवाल उठाउन जरुरी भएको बताउनु भयो । मुद्दाहरुलाई प्रभावित पार्ने भन्दा न्यायमा पहुँच हुने गरि सम्बोधन गर्न आवश्यक रहेको बताउनु भयो । पीडितलाई न्यायका लागि पहल हुने गरि अधिकारकर्मी तथा सञ्चारकर्मीहरुले भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो ।
नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले पत्रकारमाथि भइरहेका धम्की, असुरक्षाका विषय पहिचान गरेर हिंसाका घटना न्यूनिकरण गर्न एकअर्काको परिपूरक भएर समन्वय गर्न आवश्यक रहेको बताउनु भयो । महासङ्घ सुनसरीका सचिव विनय बाह््रकोटीले पत्रकार र मानव अधिकारकर्मीबिच समन्वयको अभाव भएकाले त्यसको परिपूर्ति गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नैतिकता र आचारसंहिताभित्र रहेर पत्रकार र अधिकारकर्मीले काम गर्न आवश्यक भएको बताउनु भयो ।
सप्तकोसी एफएम इटहरीका प्रधान सम्पादक लिलाराज भट्टराईले सबै मिलेर सामाजिक न्यायको पहुँचका लागि काम गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले अधिकारकर्मी र सञ्चारकर्मीहरुले हातेमालो गरेको खण्डमा मानवअधिकारका सवाललाई सम्बोधन गर्न सकिने बताउनु भयो ।
नेपाल प्रेस युनियन सुनसरी अध्यक्ष धु्रब ढकालले स्थानीय तहमा जनप्रतिनिधि आएपछि अधिकारका सवाल कमजोर भएको गुनासो गर्नु भयो । उहाँले प्रहरी र प्रशासनले मानव अधिकारका सवालमा सूचना नदिँदा पीडितको न्याय प्राप्तिका विषयमा अधिकारकर्मी र पत्रकारको भूमिका कमजोर हुँदै गएको बताउनु भयो ।
गैरसरकारी संस्था महासंघ सुनसरी अध्यक्ष मेघराज न्यौपानेले पत्रकार र अधिकारकर्मीले मिलेर काम गर्नु पर्नेमा एक अर्कामा दोष दिने प्रवृत्तिका कारण पीडितको न्याय स्थापनाको मुद्दा कमजोर हुँदै गएको बताउनु भयो । पत्रकार वा अधिकारकर्मीले समस्या उठान गरेपछि त्यसो समस्यालाई पीडितको न्याय स्थापनासम्म लैजान अधिकारकर्मी र पत्रकारको बराबर भूमिका हुनु पर्ने बताउनु भयो ।
महिला मानव अधिकार रक्षक सञ्जाल सरस्वती केसीले पत्रकार र अधिकारकर्मीलाई चुनौती भएको अझ महिला अधिकारकर्मीलाई बढी चुनौती हुने गरेका कारण सबैले सामूहिक रुपमा पीडितको न्यायका लागि हातेमालो गर्न आवश्यक भएको बताउनु भयो ।
पत्रकार सन्तोष यादवले अधिकार र दायित्वबाट मात्रै नागरिकको मानव अधिकार सुनिश्चित हुने बताउनु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य इन्सेक प्रदेश प्रलेख अधिकृत पुण्य अधिकारीले मानव अधिकार रक्षकको लागि कानुन कार्यान्वयन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा अधिकारकर्मी, पत्रकार, नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । (मनोहरकुमार पोखरेल- इन्सेक )

   

You cannot copy content of this page