कञ्चनरूप, ८ असार । सप्तरीमा आज बिहान दुई ओटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवा जाने बाटोको भित्री सडकखण्डमा कंकालिनी मन्दिरबाट भलुवा जाँदै गरेको को १० प ५६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका वडा नम्बर ११ राजपुर बस्ने वर्ष १९ को अविनाष मण्डल गम्भीर घाइते भई गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
त्यस्तै को १० प ५६२ नम्बरको मोटरसाइकल चालक कञ्चनरुप नगरपालिका–१ बैरवा निवासी जुगल किशोर पंजियारका छोरा ३४ वर्षीय ओम प्रकाश पंजियारको पनि बिराटनगरको न्युरो अस्पतालमा उपचारको क्रममा बिहान ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
उक्त मोटरसाइकलमा सवार अर्का कञ्चनरुप–१ बैरवाका ३० वर्षीय सुभाष महतो घाइते भएका छन् । उनको खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख डिएसपि माधव प्रसाद काफ्लेले जानकारी दिनुभएको छ । उनलाई पनि उपचारका लागि बिराटनगर लगिएको डिएसपी काफ्लेले बताउनुभयो ।
दुबै मोटरसाइकल हाल प्रहरीको नियन्त्रणमा रहेको छ ।

