कञ्चनरूप, ११ असार । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप–११, सिमरा चोकमा स्कुटरले बाटो क्रस गरिरहेका साइकल यात्रीलाई ठक्कर दिएको छ । दुर्घटनामा स्कुटर चालक र साइकल यात्री घाइते भएका छन् ।
बुधबार साँझ ८ बजे कञ्चनपुरबाट ठेलिया जाँदै गरेको प्र १–०१–००५–प–६५६४ नम्बरको स्कुटरले बाटो क्रस गरिरहेका साइकल यात्री कञ्चनरुप–११ का ५५ वर्षीय बिजय कुमार मण्डललाई ठक्कर दिएको थियो । साईकल यात्री मण्डलको टाउको र खुट्टामा चोट लागेको छ । उनको स्थानीय धर्मेश्वर अस्पताल, ठेलियामा उपचार भइरहेको छ र अवस्था मध्यम रहेको बताइएको छ ।
दुर्घटनामा संलग्न स्कुटर चालकको नाम, थर र ठेगाना तत्काल खुल्न नसकेका अन्दाजी २५ वर्षीय युवकको अवस्था गम्भीर रहेको छ । उनी बोल्न नसक्ने अवस्थाका कारण थप उपचारका लागि बिराटनगर पठाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
दुर्घटनामा संलग्न स्कुटर र साइकल दुवै साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।

