राजविराज, १२ असार । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ४ प्रिपाहीमा बिहीवार एक युवकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ का छेदीलाल खंगको छोरा बर्ष ३२ को राज कुमार खंगको घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको हो ।
स्थानीयले एक पुरुष व्यक्तिको शव देखेपछि प्रहरीलाई जानकारी गराए लगत्तै जिल्ला प्रहरी कार्यालय सप्तरीबाट अनुसन्धान टोली खटी शवको पहिचान गरेको सप्तरीका प्रहरी प्रमुख डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
घटना स्थलमा प्रहरी टोली पुगी प्रारम्भिक अनुसन्धान गर्दा मृतक खंगको पहिचान भई थप अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयो ।
घटना स्थलमा मधेस प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली खटी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
शव परिक्षणको लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ ।

