कञ्चनरूप, १३ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ का ३२ वर्षिय राज कुमार खंगको घाँटी रेटी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । युवकको हत्या आरोपमा प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ की २१ वर्षीया तुलसीदेवी सरदारलाई बिहिवार राती पक्राउ गरेको हो ।
उनलाई सुनसरी इनरुवा नगरपालिका ९ स्थित बबियाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याइएको प्रहरीले जनाएको छ ।
सरदारलाई जिल्ला प्रहरी कार्यालय सुनसरीसंग आवश्यक समन्वय पश्चात् राती १० बजे नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार वस्नेतले जानकारी दिनुभयो । सरदारको साथबाट मृतकले प्रयोग गर्ने गरेको मोबाइल सेट, घटनामा प्रयोग भएको चक्कु फेला परेको उहाँले बताउनुभयो ।
अभियुक्तलाई कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीको राजगढ गाउँपालिका ४ पिप्राहीमा बिहीवार बिहान घाँटी रेटिएको अवस्थामा खंगको शव फेला परेको थियो ।

