कोशी प्रदेश समाचार

कोशी प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन र सचेतना अभिवृद्धि कार्यक्रम 

विराटनगर, २१ असार । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगरमा बाल अधिकार सचेतना समूहका सदस्यहरूको लागि सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारले “न्यायमा पीडितको पहुँच र प्रहरीको प्रतिबद्धता”, सिविनका कोशी प्रदेश प्रमुख बासु अधिकारीले “बाल अधिकार, कानुन र बाल हेल्पलाइन”, ओरेकका कोशी प्रदेश प्रमुख शोभा बजगाईले “महिला अधिकार, समानता र सशक्तिकरण” विषयमा सहजीकरण गर्नुभयो ।

यसैगरी राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशकी मानव अधिकार अधिकृत तुलसा कार्कीले “वातावरण प्रदुषण, संरक्षण र स्वास्थ्य अधिकार”, फेडोका जिल्ला परियोजना संंयोजक नरबहादुर आउजीले “जातीय विभेदको अवस्था र कानूनी व्यवस्था” तथा कोशी अस्पतालमा सञ्चालित ओसिएमसीका मामला व्यवस्थापक रीता दाहालले “ओसिएमसीको उपचार सेवाको प्रकृया र प्रभावकारिता” विषयमा सहजीकरण गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले मानव अधिकारप्रतिको सचेतना र जागरणले मात्र यसको सम्मान, संरक्षण, सम्वद्र्धन र प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्ने भएकोले ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सचेतना कार्यक्रम गरिएको बताउनु भयो । बालबालिकाहरूमा मानव अधिकारप्रतिको बुझाइलाई स्पष्ट बनाउन, सकारात्मक सोच वृद्धि गरी कर्तव्यसहितको अधिकारको दाबी गर्न, जातीय विभेद र लैंगिक हिंसाविरुद्ध खबरदारी र पहरेदारी गर्न, जलवायु परिवर्तनका कारण मानव जीवनमा पारेको प्रभावलाई मानव अधिकारमैत्री आँखाले हेर्दै सोही अनुसार अगाडि बढन र सरोकारवाला निकायको सहयोग प्राप्त गर्न कार्यक्रम उपयोगी भएको उहाँले विश्वास व्यक्त गर्नुभयो ।   

सचेतना कार्यक्रमपश्चात सकारात्मक सामाजिक रूपान्तरणका लागि मानव अधिकारको रक्षा र पैरवी गर्ने उद्देश्यसहित कोशी प्रदेशस्तरीय बाल अधिकार सञ्जालको गठन भएको छ । बालबालिकाहरूको भेलाले मोरङ जिल्ला रतुवामाईकी निता कटुवालको अध्यक्षतामा सात सदस्यीय प्रदेशस्तरीय बाल अधिकार समूह गठन गरेको छ । समूहको उपाध्यक्षमा सुनसरी जिल्ला बर्जुकी नेहारीका चौधरी र सचिवमा सुनवर्षीका उमेश शाह चयन हुनुभएको छ । सदस्यहरूमा बर्जुका प्रितिका चौधरी र राधिका चौधरी, देवानगञ्जका आदर्श कुमार यादव र मेहेराज अन्सारी चयन हुनुभएको छ । 

इन्सेक कोशी प्रदेशका प्रलेख अधिकृत पुण्यप्रसाद अधिकारीले स्वागत गर्नुभएको कार्यक्रमका सहभागीहरुले मानव अधिकार रक्षाका लागि राज्यले गरेको प्रतिबद्धता र व्यवस्थाबारे जानकारी पाएर आत्मबल बढनुका साथै काम गर्ने उत्साह बढेको बताउनु भयो ।

सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय मध्यहर्षाही र अमरसिंह मावि साहेवगञ्ज, बर्जु गाउँपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमाही बेल्हा र रामसीता माध्यमिक विद्यालय भिमपुर तथा मोरङको रतुवामाई नगरपालिकास्थित सरस्वती माध्यमिक विद्यालय इटहरा र सरस्वती माध्यमिक विद्यालय कादुपाडा, सुनवर्षी नगरपालिकास्थित बिरेन्द्र माध्यमिक विद्यालय अमरदह र आदर्श माध्यमिक विद्यालय डाइनियामा गठित बाल अधिकार सचेतना समूहमा आवद्ध बालबालिकाहरू र संरक्षक शिक्षकहरूका लागि सचेतना अभिवृद्धि कार्यक्रम गरिएको थियो ।

   

You cannot copy content of this page