कञ्चनरूप, २१ असार । सप्तरी प्रहरीले भारतबाट अवैध रूपमा चोरी पैठारी गरी ल्याइएको प्रोटिन पाउडर र मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको गस्ती टोलीले जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं. ४ स्थित शान्ति चौकदेखि कट्टी चौकतर्फ जाने सडक खण्डमा उक्त सामान नियन्त्रणमा लिएको हो।
प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको को.३७प.६३७७ नम्बरको हिरो स्प्लेन्डर प्लस मोटरसाइकल र सोमा लोड गरिएको ३८ पिस प्रोटिन पाउडर (प्रति पिस अनुमानित मूल्य रु. ८००) जाँच गर्दा भन्सार छली गरी ल्याइएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो।
बरामद सामानको कुल मूल्य रु. १,८०,४०० बराबर रहेको र उक्त सामानलाई आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।
फरार रहेका मोटरसाइकल चालकको खोजी कार्य भइरहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

