कञ्चनरूप, २५ असार । सप्तरी जिल्लाको सप्तकोसी नगरपालिकाको विभिन्न स्थानमा बुधबार दिउँसो एक अपरिचित व्यक्तिको समूहले लाखौंको चोरी गरेका छन् ।
मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले दिउँसो ३ बजेतिर सप्तकोशी ७ स्थित बनिगामाका परमेश्वर चौधरी र बेलुका ४:१५ बजे सप्तकोशी नगरपालिकाकै वडा नम्बर १० स्थित कमलपुरका सुरेन्द्र यादवको घरबाट लाखौं मूल्य बराबरको गरगहना तथा पैसा चोरी गरेका छन् ।
परमेश्वरको घरमा लाखौंको गरगहना तथा रुपैयाँ चोरी भएको छ । चौधरीका अनुसार उनको घरबाट ८० तोलाजति चाँदीका गरगहना तथा ५० हजार रुपैयाँ नगद चोरी भएको छ ।
यसैगरी सुरेन्द्रको घरमा पनि चोरी भएको छ । उनको घरबाट १ तोला सुन ,५० तोला चाँदी र ५० हजार नगदसहितका सरसामानहरु चोरी भएको छ ।
मोटरसाइकलमा आएका उक्त अपरिचित व्यक्तिले सप्तकोशीका बनिगामा र कमलपुर दुबै स्थानमा विभिन्न बहानामा घरभित्र प्रवेश गरी दराजको ताल्चा फुटाई चोरी गरेको पीडितले बताएका छन् ।
घटनाबारे खोज अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

